चर्को आलोचना खेपिरहेका रोनाल्डोको पिर्लोले गरे बचाउ

एजेन्सी, चैत १

इटालियन क्लब युभेन्टसका प्रमुख प्रशिक्षक आन्ड्रेया पिर्लोले आफ्ना प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोको बचाउ गरेका छन् । युभेन्टस यसै साता च्याम्पियन्स लिगको अन्तिम १६ बाटै आउट भएपछि व्यक्तिगत रूपमा चर्को आलोचना खेपिरहेका पोर्चुगिज फरवार्डलाई क्लबले बेच्ने तयारी गरेको चर्चा भइरहँदा र रोनाल्डो स्वयंले अब युभेन्टस छाड्नुपर्ने भन्दै आलोचना भइरहेका बेला प्रशिक्षक पिर्लो भने रोनाल्डोको पक्षमा उभिएका छन् । च्याम्पियन्स लिगबाट टिम आउट हुँदा रोनाल्डो एक्लै आउट नभएर टिम नै आउट भएकाले त्यसको दोष रोनाल्डोमाथि मात्रै नपर्ने र सिंगाले टिमले जस लिने पिर्लोले बताएका छन् । आज राति सिरी ए लिगमा क्याग्लिअरीविरुद्ध हुने खेलअघि आयोजित पत्रकार सम्मेलनमा भाग लिँदै पिर्लोे यी भनाइ राखेका हुन् ।

‘हामी च्याम्पियन्स लिगबाट आउट हुनु भनेको युभेन्टस आउट हुनु हो, क्रिस्टियानो एक्लै होइन । मानिस जसरी कुरा गरिरहेका छन्, त्यो एकदमै वाहियात हो । मिडियामा भइरहेका आलोचनाको कुनै अर्थ छैन,’ पिर्लोले भनेका छन्, ‘हामी किन र कसरी आउट भयौं, यसका पछाडि कारण होलान् । तर, यो असफलताको कारण प्रशिक्षकका रूपमा म पनि हुँ, मेरो सिंगो टिम हो । कुनै एक खेलाडीले हारको दोष बोक्ने र बाँकी त्यसबाट जोगिने भन्ने कुनै हुँदैन । म क्रिस्टियानोसँग छु । हामी सबै उनीसँग छौं ।’

पिर्लोले रोनाल्डो अहिले ठीक रहेको तर अन्य खेलाडीझैं उनी पनि निराशा रहेको बताएका छन् । ‘उनी ठीक छन् । उनको निराशा सामान्य छ, अन्य खेलाडीजस्तै । बाहिरका चर्चा र आलोचना पनि स्वभाविक नै छन् । तर, क्रिस्टियानो आज पनि हाम्रो टिमका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । आज पनि विश्व फुटबलमा उनी सबैभन्दा महत्त्वूर्ण खेलाडी हुन्, लिओनल मेस्सीसँगै । क्रिस्टियानोले सधैं शानदार काम गर्दै आइरहेका छन् । र, आफ्नो महत्त्व साबित गर्दै आइरहेका छन् । उनी एक वा दुई असफलताले कहिल्यै टुक्रिँदैनन् । जब उनी पराजित हुन्छन्, अर्को जितका लागि दृढ हुन्छन् । यो हो उनको स्वभाव र सोच,’ पिर्लोले भने ।

पिर्लोले युभेन्टस अब सिजनका बाँकी उपाधि जित्न लाग्ने र त्यसमा रोनाल्डोले योगदान दिने बताए । टिमले अब सिरी ए लिगमा फर्किन र कोपा इटालियाको फाइनल जितेर सिजन सिध्याउने उनले बताए । ‘हामी इटालियन कपको फाइनलमा छौं । अब हाम्रो लक्ष्य यो कप जित्नु र घरेलु लिगको उपाधि प्रतिस्पर्धामा अगाढि बढ्नु हो,’ पिर्लाेले भने, ‘क्रिस्टियानोले यी कुरा हाँसिल गर्न टिमलाई सघाउनेछन् । अहिले नै उनले २७ गोल गरिसकेका छन् । उनका यी २७ गोलबिना हामी कुन अवस्थामा हुन्थ्यौं, त्यो मलाई थाहा छ । उनी हाम्रा लागि कति महत्त्वपूर्ण छन् भनेर उनको गोल संख्याले नै बताउँछ ।’
पिर्लोले च्याम्पियन्स लिगबाट आउट भइसकेपछि आफ्ना खेलाडी अब सिजनका बाँकी प्रतियोगिता जित्न र नियति काममा लागिसकेको बताए । ‘च्याम्पियन्स लिगबाट हामी चाँडै आउट हुन पुग्यौं, जुन कठिन नतिजा थियो । तर, यो त बितिसक्यो । अब हामी बाँकी सिजनलाई राम्रो बनाउने काममा केन्द्रित हुनुपर्छ,’ पिर्लोले भनेका छन्, ‘हामीले टिममा छलफल गरेका छौं । च्याम्पियन्स लिगको हार भुलेर हामी अघि बढ्नुपर्छ । मेरा खेलाडी तयार छन् ।’

प्रकाशित मिति १ चैत्र २०७७, आईतवार ०९:५९
Loading...