मेस्सीको ट्रान्सफरबारे घनिष्ठ मित्र अगुएरोले गरे यस्तो खुलासा

एजेन्सी, चैत १

इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार फरवार्ड सर्जियो अगुएरोले राष्ट्रिय टिमका आफ्ना सहकर्मी लिओनल मेस्सीको भविष्यबारे केही संकेत गरेका छन् । स्पेनिस बार्सिलोनाका कप्तान समेत रहेका मेस्सी यो सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने तयारीमा छन् । सन् २००४ देखि बार्सिलोनाबाट खेलिरहेका मेस्सीको सम्झौता क्याटलान क्लबसँग यो सिजनभरिका लागि मात्रै रहेको छ । यो सिजन सकिएसँगै ३४ वर्षका मेस्सीले आफूखुसी आफूले चाहेको क्लबमा फ्री ट्रान्सफरमा जान पाउँछन् । बार्सिलोनामा मेस्सीको भविष्य के होला भनेर चासो र अनेक अड्कलबाजी भइरहेका बेला अर्जेन्टिनामा सँगै खेल्ने र खास साथी समेत रहेका अगुएरोले केही संकेत दिएका छन् ।

अगुएरोका अनुसार केही साताअघिसम्म मेस्सी हाल आफू रहेको क्लब सिटीमा अनुबन्ध हुने बाटोमा थिए । तर, बार्सिलोनाको बोर्डमा नयाँ अध्यक्ष आएसँगै अब मेस्सीको भविष्यमा नयाँ मोड आउन सक्ने र मेस्सीले आफ्नो विचार बदल्ने सक्ने आफूले बुझेको अगुएरोले बताएका छन् । त्यसो त नयाँ अध्यक्ष जोन लापोर्टा स्वयंले आगामी समरमा अगुएरोलाई पनि फ्रीमा भित्र्याउन योजना बनाएका छन् । सिटीमा अगुएरोको पनि यो सिजनको अन्त्यसँगै सम्झौता सकिँदैछ । बार्सिलोनाले ताकिरहेका अगुएरोले मेस्सीको भविष्य बार्सिलोनामा अहिले नै समाप्त नहुने जनाउ दिएका छन् । ‘केही साता अघिसम्म लियो म्यानचेस्टर सिटी जाने बाटोमा थिए । तर, बार्सिलोनाको अध्यक्षमा नयाँ नेतृत्व आएपछि यी कुरा बदलिनेक्रममा रहेको मैले बुझेको छु । यो कुरालाई धेरैले अनुमान पनि गरेका होलान्,’ अगुएरोले भनेका छन् ।

बार्सिलोनाका नयाँ अध्यक्ष लापोर्टाले मेस्सीलाई क्लबमै राख्नका लागि राजी गराउन नयाँ खेल परियोजना तयार पारिरहेको र मेस्सी त्यसमा सहमत हुन सक्ने कुरा अगुएरोले बताएका छन् । ‘लियो मेरा नजिकका साथी भएकाले उनले के गर्न गइरहेका छन् भनेर म अनुमान गर्न सक्छु । मलाई लाग्छ– बार्सिलोनाका नयाँ अध्यक्षले मेस्सीलाई फकाउन बृहत् परियोजना ल्याउँदैछन् । र, लियो यसमा सहमत हुने स्थिति सिर्जना हुँदै गएको मैले बुझेको छु,’ अगुएरोले भनेका छन्, ‘क्याम्प नोउमा धेरै कुरा बदलिनेक्रममा रहेकाले मेस्सीले क्लबसँग सम्झौता थप गर्न सक्छन् । राम्रो खेल परियोजना र वातावरणमा उनलाई त्यहाँ रहन अहिले पनि कुनै समस्या छ जस्तो मलाई लाग्दैन । किनभने, उनले त्यहाँबाट खेल्न मात्रै हैन, जितिरहन चाहन्छन् ।’

मेस्सीसँग क्लब करिअरमा पनि एकसाथ खेल्न सक्ने विषयमा अगुएरोले सपष्ट बताउन चाहेनन् । तर, त्यो समय आए आफू खुसी हुने उनले बताए । ‘मेरा लागि यो ठूलो विषय होइन । किनभने, अर्जेन्टिनामा हामी करिअरको सुरुआतबाटै सँगै खेलिरहेका छौं । मलाई उनीसँग क्लबमा पनि सँगै खेलूँ भन्ने चाहना छैन । तर, त्यो समय आयो भने राम्रो लाग्नेछ । थाहा छैन, भविष्यमा के हुनेवाला छ,’ अगुएरोले भने, ‘लियोसँग मेरो सधैं राम्रो सम्बन्ध छ । हामीले एकअर्कालाई धेरै राम्रोसँग बुझेका छौं । हामीले सँगै खेल्दा वा एकअर्काविरुद्ध खेल्दा पनि थुप्रै रमाइला क्षणहरू हामीले साटासाट गरेका छौं ।’

प्रकाशित मिति १ चैत्र २०७७, आईतवार ०६:३६
Loading...