बेन्जेमा चम्किँदा रियल मड्रिडको कमब्याक जित : उक्लियो दोस्रो स्थानमा

काठमाडौं, फागुन २९

फ्रेन्च फरवार्ड करिम बेन्जेमा चम्किँदा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले संघर्षपूर्ण कमब्याक जित निकालेको छ । आज शनिबार राति भएको लिगको २७औं साताको खेलमा रियलले आफ्नो घरेलु मैदानमा पाहुना टोली इल्चेमाथि २–१ को कमब्याक जित निकाल्न सफल भयो । खेलको ६१औं मिनेटमा आफ्नै मैदानमा ०–१ ले पछि परेको स्थितिमा रियललाई कठिन अवस्थामा बेन्जेमाले २ गोल गर्दै टिमलाई कमब्याक जित दिलाए । रियललाई उपाधि होडमा रहनका लागि यो जित अति नै महत्त्वपूर्ण थियो, जुन ठूलै परिश्रम र संघर्षका साथ मात्रै सम्भव भयो ।

पाहुना टोली इल्चेले पहिलो हाफमा घरेलु टोलीविरुद्ध पूरै रक्षात्मक खेलेर रोकेको थियो । तर, दास्रो हाफमा दुवै तर्फबाट ३ गोल भए । खेलको ६१औं मिनेटमा इल्चेका लागि ड्यानी काल्भोले हेडिङमार्फत् दर्शनीय गोल गरेर घरेलु टोलीलाई ठूलो झट्का दिएका थिए । कर्नर किकबाट आएको बलमा काल्भोले गरेको कडा हेडिङ बारमा लागेर छिरेको थियो, जलाई रियलका गोलकिपर थिबाउट कोर्टुवाले रोक्नै सकेनन् । त्यसपछि ठूलै दबाबमा परेको रियलका लागि ७३औं मिनेटमा बेन्जेमाले हेडिङमार्फत् गोल गरेर खेल १–१ बनाए । सो गोलमा लुका मोड्रिचले पास मिलाएका थिए । इल्चेका डिफेन्डरका माझबाट बेन्जेमाले सुन्दर गोल गरेर टिमलाई खेलमा फर्काएका थिए ।

सो गोलपछि खेल बराबरीतर्फ अघि बढेको थियो । ९०औं मिनेटसम्म खेलमा दुवै तर्फबाट थप गोल भएन । घरमै २ अंक गुमाउने नजिक पुगेका बेला ९१औं मिनेटमा रियलका लागि बेन्जेमाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि खेल रियलले २–१ ले जित्यो । रोड्रिगोले दिएको कठिन पासमा १६ यार्डबाट बेन्जेमाले लो भलीमा शानदार गोल गरेका थिए । आजको खेलमा गरेको गोलसँगै बेन्जेमाले ला लिगामा यो सिजन १५ गोल पूरा गरेका छन् । उनी अहिले ला लिगाको सर्वाधिक गोलकर्ताको दौडमा मिसिएका छन् ।

अब यो कठिन जितपछि रियलले उपाधि होडमा आफूलाई कायमै राख्न सफल भएको छ । रियलले २७ खेलबाट कूल ५७ अंक जोडेको छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिड रियलभन्दा ५ अंकले अघि रहेर शीर्ष स्थानमा छ । एथ्लेटिकोले आफ्नो २७औं खेल आजै राति गेटाफेसँग खेल्दै छ । यता, २६ खेल खेलेको बार्सिलोना ५६ खेलपछि तेस्रो स्थानमा छ । रियलले बार्सिलोको भन्दा १ खेल बढी खेलेर उसलाई १ अंकले नै पछि पारेको छ । यता, पराजित इल्चे २४ अंकसहित १७औं स्थानमा रहेको छ ।

प्रकाशित मिति २९ फाल्गुन २०७७, शनिबार १६:३०
Loading...