यस्तो छ बार्सिलोनालाई पुनर्निर्माण गर्ने नयाँ अध्यक्षको ‘मास्टर प्लान’

एजेन्सी, फागुन २९

६ वर्षदेखि लगातार ठूला उपाधि जित्न नसकेपछि स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनका लागि टोलीलाई नयाँ ढंगले पुनर्निर्माण गर्न विशेष योजना बनाएको छ । यसै साता च्याम्पिन्स लिगको अन्तिम १६ बाटै आउट भएपछि बार्सिलोनामा अहिले ठूलो निराशा र उथलपुथलको स्थिति छ । सन् २०१५ मा च्याम्पियन्स लिगसहित ट्रिबेल उपाधि जितेयता बार्सिलोनाले फेरि च्याम्पियन्स लिग जित्न सकेको छैन । जित्नु त परकै कुरा, ऊ यी ६ वर्षको बीचमा एकपटक पनि फाइनल पुग्न सकेको छैन । योभन्दा पनि दुःखको कुरा त बार्सिलोना यी ६ वटै वर्षमा बार्सिलोना हरेक सिजन लज्जास्पद हार भोग्दै आउट भएको छ । यो नतिजाले विश्वकै एक ठूलो र सर्वाधिक सफल क्लब बार्सिलोनालाई लज्जास्पद स्थितिमा उभ्याएको छ ।

यो सिजन बार्सिलोना अन्तिम १६ मा फ्रेन्च क्लब पिएसजीसँग समग्रमा ५–२ को लज्जास्पद हार भोग्दै छैटौंपटक आउट भयो । गत सिजन बार्सिलोनालाई जर्मन क्लब बार्यन म्युनिखले ८–२ को बेइज्जतीपूर्ण हार खुवाउँदै आउट गराएको थियो । त्यसअघि उसलाई इंग्लिस क्लब लिभरपुलले ४–० ले हराएको थियो । लगातारका यी खराब नतिजाबाट थाकेको बार्सिलोनाले आगामी नयाँ सिजन २०२१–२२ का लागि बलियो टोली बनाएर च्याम्पियन्स लिग जित्नका लागि नयाँ ढंगले टोली बनाउने तयारी थालिसकेको छ । यसै साता नयाँ अध्यक्षमा निर्वाचित भएका जोन लापोर्टाले यसका लागि खास योजना बनाएर कार्य थालिसकेको स्पेनिस मिडियाले जनाएका छन् । बार्सिलोनालाई पहिलाकै तामझाम र रौनकमा फर्काउन लापोर्टाले आगामी समरमा खेलाडी किनबचेमा ठूला निर्णय गर्दैछन् ।

त्यसका लागि लापोर्टाले हाल टोलीमा रहेका केही स्टार खेलाडीसहित कम्तीमा आधा दर्जन खेलाडी बेचेर नयाँ खेलाडीमा लगानी गर्ने योजना बनाएका छन् । सोही योजनाअनुसार लापोर्टाले समरमा बाहिरका क्लबबाट केही प्रतिभाशाली खेलाडी भित्र्याउने तयारी गरेका छन् । बार्सिलोना निकट मानिने स्पेनको चर्चित पत्रका ‘मुन्डो डेपोर्टिभो’का अनुसार लापोर्टाले नयाँ सिजनमा ६ जना खेलाडी भित्र्याउने तयारी गरेका छन् । लापोर्टाको योजनामा रहेका खेलाडीमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका २० वर्षका गोल मेसिन खेलाडी अर्लिङ हल्यान्ड, इंग्लिस क्लब म्यानचेस्टर सिटीका २० वर्षीय युवा डिफेन्डर इरिक गार्सिया, सिटीकै ३२ वर्षीय फरवार्ड सर्जियो अगुएरो रहेका छन् ।

त्यसैगरी, फ्रेन्च क्लब लियोनका २७ वर्षीय फरवार्ड मेम्फिस डिपे, जर्मन क्लब बार्यन म्युनिखका डिफेन्सिभ मिडफिल्डर डेभिड अलबा र इटालियन क्लब युभेन्टसका युवा डिफेन्डर माथिस डि लिग्ट रहेका छन् । जसमा बार्सिलोनाले बार्यनका २८ वर्षका अस्ट्रियन खेलाडीलाई फ्री ट्रान्सफरमा भित्र्याउन पाउँछ भने ४ जनाका लागि सरुवा फी तिर्नुपर्नेछ । यदि योजनअनुसार डिपे भित्र्याउन नसके बार्सिलोनाले इटालियन इन्टर मिलानका लौटारो मार्टिनेजलाई पनि विकल्पमा राखेको चर्चा छ । तर, लापोर्टाले समरमा नम्बर वान टार्गेटमा भने नर्वेका २० वर्षका हल्यान्डलाई नै राखेका छन् । उनलाई क्याम्प नोउ उतार्न बार्सिलोनाले ऋण काडेर भए पनि लगानी गर्ने लापोर्टाले बताएका छन् ।

हालको अवस्थामा बार्सिलोनालाई महँगो सरुवा फी लाग्ने भनेका हल्यान्ड मात्रै हुन् । हालकै सरुवा बजारमा हल्यान्ड भित्र्याउन बार्सिलोनाले १५० देखि १७५ मिलिलयन युरोसम्म खर्चनुपर्ने हुन्छ । यता, बार्यनका अलबालाई जस्तै सिटीका अगुएरोलाई पनि यो सिजनपछि बार्सिलोनालो फ्री ट्रान्सफरमै भित्र्याउन पाउँछ । सिटीका गार्सियाका लागि भने बार्सिलोनाले ५० मिलियन आसपास युरोसम्म सरुवा फी तिर्नुपर्ने हुन्छ । युभेन्टसका डि लिग्टका लागि हालको अवस्थामा ९० मिलियन युरोसम्म सरुवा फी आवश्यक पर्न सक्छ । यी खेलाडी भित्र्याउन आवश्यक रकम जोहो गर्न बार्सिलोना हाल टोलीमा रहेका ५–६ जनासम्म खेलाडी बेच्नेछ ।

जसमा ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो र फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान मुख्य प्राथमिकतामा छन् । त्यसैगरी, मिरालेम पियानिच, मार्टिन ब्रेथवेट, जुनियर फिर्पो पनि सूचीमा छन् । लोनमा अन्य क्लबमा गएका खेलाडीलाई पनि बार्सिलोनाले यसपटक स्थायी रूपमै बेच्नेवाला छ । नयाँ खेलाडीका लागि चाहिने रकम जुटाउनका लागि आर्थिक हिसाबले टेवा दिने खेलाडी भनेका कोउटिन्हो, ग्रीजम्यान र पियानिच हुन् । बार्सिलोनाले कोउटिन्होलाई १६० मिलियन युरो, ग्रीजम्यानलाई १२० मिलियन युरो र पियानिचलाई ६५ मिलियन युरोमा भित्र्याएको थियो । तर, अहिले यी सबै खेलाडीको मार्केट भ्यालु घटेको छ । त्यसैले उसले थप २ वा ३ जनासम्म खेलाडी बेच्ने तयारी गरेको छ ।

प्रकाशित मिति २९ फाल्गुन २०७७, शनिबार १०:१७
Loading...