मेस्सीसँगको प्रतिस्पर्धाबारे रामोसको रोचक टिप्पणी

एजेन्सी, फागुन २९

स्पेनिस फुटबल क्लब रियल मड्रिडका कप्तानसमेत रहेका डिफेन्डर सर्जियो रामोसले आफ्नो खास प्रतिस्पर्धी क्लब बार्सिलोनाका कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीको विषयमा धारणा राखेका छन् । एक ताजा अन्तर्वार्तामा स्पेनिस खेलाडी रामोसले मेस्सीसँग आफ्नो व्यक्तिगत प्रतिस्पर्धालाई मेस्सीका लागि दोस्रो रोचक प्रतिस्पर्धा रहेको बताएका छन् । रियलका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डो रियलमा छँदा उनीसँग मेस्सीको व्यक्तिगत प्रतिस्पर्धा सबैभन्दा रुचाइएको प्रतिस्पर्धा भएको र त्यसपछि मेस्सीसँग आफ्नो प्रतिस्पर्धा धरैले याद गर्ने रामोसले बताए । तर, आफूहरूको प्रतिस्पर्धालाई धेरैले टकरावका रूपमा लिने गरेको पनि रामोसले बताएका छन् ।

मेस्सी र आफू फरक–फरक पोजिसनको खेलाडी भए पनि आफ्ना लागि मेस्सी र मेस्सीका लागि आफू खास प्रतिस्पर्धी रहेको रामोसले अन्तर्वार्ताक्रममा बताएका छन् । आफूलाई जस्तै मेस्सीलाई पनि लाग्न सक्ने रामोसले उल्लेख गरेका छन् । ‘क्रिस्टियानो यहाँ छँदा उनी र मेस्सीको प्रतिस्पर्धा खास थियो, जसलाई धेरैले स्वीकारे । मेस्सी र उनको टिमविरुद्ध म र मेरो टिमसँग थुप्रै अनुभव छन् । मसँग पनि छन् । मलाई लाग्छ– स्पेनमा क्रिस्टियानोपछि मेस्सीका लागि म खास प्रतिस्पर्धी हुँ । हामी एकै पोजिसनमा छैनौं । तर, मैदानमा हाम्रो प्रतिसपर्धा सधैं खास बन्दै आएको छ । जस्तो कि– म मेस्सीलाई छेक्छु, रोक्छु । उनी मलाई पार गरेर अघि बढ्छन्, मलाई सामना गरेर गोेल गर्छन् । कहिले म उनलाई धकेल्छु, कहिले उनी मलाई धकेल्छन् । यी कुरा निकै रामाइला छन्,’ रामोसले भने ।

रामोसले मैदानमा खेल दौरान मेस्सीसँग आफ्नो बेला–बेला टकराव हुने भए पनि खेलपछि त्यो केही नरहने र मेस्सीप्रति आफ्नो सधैं उच्च सम्मान रहने बताएका छन् । ‘खेल दौरान मेस्सी र मबीच थुप्रैपटक टकराव भएको छ । हामीबीच धकेलाधकेल भएको छ, चर्को वादविवाद भएको छ । कहिले उनले मलाई लडाए होलान्, कहिले मैले उनलाई लडाएँ होला । तर, यी सबै कुरा त ९० मिनेटभरिका लागि मात्रै हुन् । यसदेखि बाहिर उनीप्रति मेरो सधैं उच्च सम्मान रहन्छ । सायद, मेस्सीलाई पनि मलाई जस्तै लाग्छ होला । किनभने, यो फुटबल हो । यस्ता कुरा हामी दुवैजना बुझ्दछौं ।’

रामोसले मेस्सीजस्ता एक उत्कृष्ट खेलाडीविरुद्ध लामो समय सोझो प्रतिस्पर्धी भएर खेल्न पाउनु राम्रो कुरा रहेको पनि बताए । आफूले त अझै मेस्सीसँग थुप्रै वर्ष यसरी नै खेल्न चाहेको पनि बताएका छन् । ‘मेस्सी उत्कृष्टमध्येका एक हुन् । उनीजस्ता खेलाडीविरुद्ध लामो समय खास प्रतिस्पर्धी भएर खेल्न पाउनुलाई मैले राम्रो मानेको छु । उनले सधैं आफ्नो टिमलाई उत्कृष्ट प्रदर्शन दिन कोसिस गरे, मैले मेरो टिमलाई । बार्सिलोनामा उनको भविष्यबारे मलाई केही थाहा छैन । तर, म त अझै पनि थुप्रै वर्ष उनीविरुद्ध खेल्न चाहन्छु । उनी बार्सिलोनामा हुँदा र नहुँदमा क्लासिको धेरै फरक हुन्छ । मेस्सीसहितको बार्सिलोनाविरुद्ध खेल्दाका मसँग थुप्रै तिता–मिठा अनुभवहरू छन् । हामीबीचको फुटबल केवल फुटबल मात्रैै नभएर प्रतिष्ठा पनि बन्यो । यसको अर्को पक्ष यो पनि हो,’ रामोसले भने ।

प्रकाशित मिति २९ फाल्गुन २०७७, शनिबार ०५:५४
Loading...