च्याम्पियन्स लिगबाट आउट भएपछि रोनाल्डो प्रशिक्षणमा फर्किए

एजेन्सी, फागुन २८

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै आउट भएपछि इटालियन क्लब युभेन्टसका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो प्रशिक्षणमा फर्किएका छन् । उनी आज शुक्रबारदेखि सामूहिक प्रशिक्षणमा सामेल भएका हुन् । तीन दिनअघि युभेन्टस पोर्चुगिज क्लब पोर्टोसँग ४–४ को बराबरी भए पनि अवे गोलमा पछि परेर आउट भएको थियो । पहिलो लेग युभेन्टसले २–१ ले हारे पनि दोस्रो लेगमा ३–२ ले जित्यो । तर, खेल समग्रमा ४–४ को बराबरी भए पनि अवे गोलमा पछि परेपछि रोनाल्डोसहितको युभेन्टस लगातार तेस्रो वर्ष च्याम्पियन्स लिगबाट आउट हुन बाध्य भयो । युभेन्टस निकै चाँडो आउट भएपछि रोनाल्डोको चर्को आलोचना भइरहेको छ ।

यतिसम्म कि, युभेन्टसमा उनको भविष्यलाई नै लिएर विभिन्न टिकाटिप्पणी गर्न थालिएको छ । युभेन्टस च्याम्पियन्स लिगबाट आउट हुँदाको धेरै जस रोनाल्डोलाई दिइँदै आएको छ । हालसम्म रोनाल्डोले यसबारेमा सार्वजनिक रूपमा केही बोलेका छैनन् । तर, आगामी खेलका लागि उनी आजदेखि नै प्रशिक्षणमा फर्किएका छन् । युभेन्टसले आगामी खेल आइतबार राति सिरी ए लिगमा क्याग्लिअरीविरुद्ध अवे मैदानमा खेल्दै छ । सो खेलको तयारीका लागि रोनाल्डो प्रशिक्षणमा फर्किएका हुन् । युभेन्टस हाल लिगमा २५ खेलपछि ५२ अंकका साथ तेस्रो स्थानमा छ । इन्टर मिलान ६२ अंकसहित शीर्ष स्थानमा छ । युभेन्टस अहिले इन्टर मिलानभन्दा १० अंकले पछि छ । तर, युभेन्टसले एक खेल कम खेलेको छ ।

युभेन्टसले च्याम्पियन्स लिगबाट आउट भइसकेपछि अबको पूरा ध्यान घरेलु लिगको उपाधि होडमा फर्किनका लागि लगाउनेछ । यसअघि नै च्याम्पियन्स लिगबाट आउट भइसकेको मिलान पनि अहिले उपाधि होडमा छ । लिगमा अब इन्टर मिलालने १२ खेल खेल्न बाँकी छ भने युभेन्टसले १३ खेल । हालकै अवस्थामा युभेन्टसलाई उपाधि होडमा फर्किन सजिलो छैन, जबसम्म इन्टर मिलानले तीन खेल हार्दैन । लिगमा इन्टर मिलानल अझै नापोली, रोमा, र युभेन्टससँग खेल्नै बाँकी छ । यदि युभेन्टसले नापोलीसँग खेल्न बाँकी एक खेल जितेर इन्टर मिलानलाई ३५औं साताको खेलमा हरायो र मिलान अर्को कुनै एक खेलमा पराजित भए मात्रै युभेन्टसको उपाधि होड खुला हुनेछ । तर, युभेन्टसले अबका बाँकी सबै खेल जित्नुपर्छ ।

प्रकाशित मिति २८ फाल्गुन २०७७, शुक्रबार १५:५०
Loading...