रोनाल्डोलाई सम्झिँदा रामोस भावुक : रियल मड्रिड फर्किने विषयमा यसो भन्छन्

एजेन्सी, फागुन २८

स्पेनिस फुटबल क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डो पुनः रियल फर्किने विषयमा धारणा राखेका छन् । आज एक अन्तर्वार्तामा कुरा गर्दै स्पेनिस खेलाडीले पछिल्लो समय युभेन्टसमा रोनाल्डोको स्थिति र उनको भविष्यबारे प्रश्न सोधेपछि रामोसले त्यसबारे बताएका हन् । विगतमा सन् २००९ देखि २०१८ मा रियलमा रामोस र रोनाल्डो सहकर्मी थिए । तीन दिनअघि मात्रै युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाटै आउट भएपछि इटालीमा रोनाल्डोको भविष्यलाई लिएर चिन्ता गर्न थालिएको छ । उनलाई युभेन्टसले बेच्न सक्ने वा रोनाल्डो आफैंले क्लब छाड्न सक्ने चर्चा बढेको छ ।

विगतमा रियलमा रोनाल्डोसँगै थुप्रै उपाधि जितेका रामोसले रोनाल्डोको भविष्य उनकै हातमा भए पनि यदि उनी स्पेन फर्किन्छन् र क्लबले त्यसका लागि तत्परता देखाउँछ भने आफूहरू सबै खुसी हुने बताएका छन् । रोनालडो रियल फर्किंदा आफूहरू र सम्पूर्ण समर्थकलाई एकदमै खुसी लाग्ने रामोसले बताएका छन् । ‘युभेन्टसमा क्रिस्टियानोको भविष्य के हुन्छ भन्ने कुरा उनकै हातमा छ । म वा हामीले यसबारे अनुमान गर्न वा सुझाव दिन सक्दैनौं,’ रामोसले भनेका छन्, ‘यदि उनी स्पेन फर्किन चाहन्छन् र क्लबले त्यसका लागि तत्परता देखाउँछ भने हामी उनलाई पुनः स्वागत गर्न पाउँदा खुसी हुनेछौं । यदि हामी फेरि सँगै हुन्छौं भने यो एक सुन्दर समय हो ।’

रामोसले अघि थपे, ‘यहाँ उनले लामो समय बिताएका छन् । हामीले सँगै मिलेर धेरै कुरा जितेका ाछौं । यस क्लबको इतिहासमा रोनाल्डोको स्थान सधैं उच्च र विशेष छ । उनले यहाँ जे गरेका छन्, त्यसले उनीप्रति सधैं उच्च सम्मानको हक राख्छ । अवश्य पनि, समयले फेरि हाामीलाई एक गराउँछ भने यो हामी मात्रै नभएर हाम्रा समर्थकलाई पनि राम्रो लाग्नेछ । तर, अहिले उनको आगामी भविष्यबारे म केही अनुमान गर्न सक्दिनँ । तर, फुटबलमा जे पनि सम्भव हुन्छ । उनको वा हाम्रो वा कसैको भविष्यमा पनि कुनै पनि बेला नयाँ अवस्था आउन सक्छ ।’

रामोसका अनुसार २०१८ मा रोनाल्डोले क्लब छाड्नु दुवै पक्षका लागि हार र क्षति हो । रोनाल्डो र रियल छुट्टिँदा कसैले पनि नजितेको रामोसको बुझाइ छ । ‘क्रिस्टियानोले २०१८ मा रियल छाड्नुका कारण केही खास कारण थिए होलान् । तर, त्यो सरुवाबाट कसैले जितेन । मेरो विचारमा क्रिस्टियानो र रियल मड्रिड दुवैले हारे । यो कुरा त आजका दिनमा नतिजाले पनि देखाइरहेको छ,’ रामोसले भने, ‘तर, अब यसबारे कुरा गर्नुको औचित्य छैन । यो विगत हो । तर, रियल मड्रिडले क्रिस्टियानोलाई कहिलयै बिर्सेन । र, बिर्संदैन पनि । किनभने, उनी यस क्लबका एक महान् खेलाडी हुन् ।’

प्रकाशित मिति २८ फाल्गुन २०७७, शुक्रबार १४:०५
Loading...