इटालीमा रोनाल्डो ‘फ्लप’ : युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिँदाको सप्पै दोष रोनाल्डोमाथि

एजेन्सी, फागुन २८

युभेन्टस जारी सिजन युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै आउट भएपछि टोलीका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोको चर्को आलोचना भइरहेको छ । तीन दिनअघि युभेन्टसले पोर्चुगिज क्लब पोर्टोसँग ४–४ को बराबरी खेले पनि अवे गोलमा पछि परेर प्रतियोगिताबाट निकै चाँडो आउट भयो । रोनाल्डो युभेन्टसमा अनुबन्ध भएपछि टिम लगातार तेस्रो सिजन पनि क्वार्टरफाइनलभन्दा अघि नबढी आउट भएको हो । यसपटक अन्मि १६ बाट आउट हुँदा युभेन्टस गत सिजन पनि अन्तिम १६ बाटै आउट भएको थियो । गएको सिजन उसलाई फ्रेन्च क्लब लियोनले २–२ को बराबरी गर्दै अवे गोलमै पछि पारेर आउट गराएको थियो । त्यसअघिको पहिलो सिजनमा युभेन्टसलाई डच क्लब आयाक्सले आउट गराएको थियो ।

सन् २०१८ मा युभेन्टसले च्याम्पियन्स लिग जित्ने लक्ष्यसाथ स्पेनिस रियल मड्रिडबाट रोनाल्डोलाई ११६ मिलियन युरोमा भित्र्याए पनि त्यसअनुसार युभेन्टसले प्रतियोगितामा सुधार गर्न सकेन । बरु, झन् खराब भयो । रोनाल्डो जानुअघि युभेन्टस सन् २०१५ मा च्याम्पियन्स लिगको फाइनल पुगेको थियो भने २०१७ मा पनि फाइनल पुगेको थियो । तर, रोनाल्डोको अनुबन्धपछि युभेन्टस एकपटक क्वार्टफाइनलबाट आउट भयो भने दुई सिजन अन्तिम १६ बाटै । यता, जारी सिजन त युभेन्टस सिरी ए लिगको समेत उपाधि होडमा कमजोर स्थितिमा छ । यसअघि दुवै सिजन युभेन्टसले घरेलु लिग भने जितेको थियो ।

च्यापियन्स लिगमा युभेन्टसको असफलतालाई आधार मानेर धेरैले इटालीमा रोनाल्डोको उपस्थिति पूर्ण रूपमा असफल भएको विश्लेषण गर्दै उनको भविष्यमाथि नै शंका गर्न थालेका छन् । रोनाल्डोको अनुबन्धपछि युभेन्टसले च्याम्पियन्स लिगमा प्रगति गर्नुको साटो झन् खराब अवस्था आएपछि रोनाल्डोको महत्त्वकांक्षी सरुवालाई धेरैले ‘फ्लप ट्रान्सफर’ भन्न थालेका छन् । त्यत्ति मात्रै हैन, यसपटक पोर्टोसँग पराजित भएर आउट हुँदको सम्पूर्ण दोष पनि रोनाल्डोमाथि नै लागेको छ । युभेन्टसले आफ्नो मैदानमा खाएको दोस्रो गोल रोनाल्डोकै गल्तीले खाएको र त्यसकै कारण युभेन्टस पराजित भएको धेरैको बुझाइ छ । पोर्टोका खेलाडीले थप समयमा फ्रि किक हान्दा रोनाल्डो मानव पर्खालमा थिए । तर, बल हानेपछि उनले खुट्टा उचाल्दा बल उनको टाङ मुनिबाट गयो । र, सोझै गएर जाली चुम्यो । अन्ततः सोही गोलका कारण युभेन्टस प्रतियोगिताबाटै आउट भयो ।

यसपटक अन्तिम १६ मा रोनाल्डोले १ गोल पनि गर्न सकेनन्, मात्रै १ गोलमा असिस्ट गरे । पहिलो लेग र दोस्रो लेग दुवैमा रोनाल्डो गोलविहीन बन्दा टिमले नसोचेको पराजय भोग्यो । महत्त्वपूर्ण समयमा रोनाल्डोले गोेल गर्न नसक्दा र उनकै कममोरीका कारण टिमले गोल खाएर हार्नुपरेपछि समर्थकहरू रोनाल्डोमाथि खनिएका हुन् । अझ उनका आलोचकले त यसलाई झनै ठूलो मसाला बनाएका छन् । अक्सर नकआउट चरणमा उच्च प्रदर्शन गरेर गोल गर्दै आएका रोनाल्डो यसपटक गोलविहीन बन्दा क्लबले पराजय भोग्नुपरेको हो । युभेन्टस अवे मैदानमा पोर्टोसँग २–१ ले हार्दा १ गोल फेडरिको किइजाले गरेका थिए भने दोस्रो लेगमा पनि किइजाले नै २ गोल गरे भने अर्को १ गोल राबिओटले गरेका थिए । तैपनि, युभेन्टसले २ अवे गोल खाँदा नतिजा गुमायो ।

युभेन्टस च्याम्पियन्स लिगबाट आउट भएपछि अहिले रोनाल्डोको चर्को आलोचना सुरु भएको छ । धेरैले अब उनको भविष्य इटालीमा अनिश्चित बनेको विश्लेषण गरिरहेका छन् भने क्लबले उनलाई अब फ्री ट्रान्सफरमा छाडेर नयाँ ढंगले टोली बनाउनुपर्नेसम्मका धारणा राखिरहेका छन् । उमेरले ३६ वर्ष पुगेका रोनाल्डोले अन्तिम १६ मा अपेक्षाअनुसार गोल गर्न नसकेकै कारण टिम प्रतियोगिताबाट बाहिरिँदाको सम्पूर्ण दोष उनीमाथि लागिरहेको छ । यसबाट रोनाल्डो स्यंम पनि निकै विचलित छन् । रोनाल्डोले हालसम्म यो हार र आफ्नो भविष्यबारे केही बोलेका छैनन् ।

प्रकाशित मिति २८ फाल्गुन २०७७, शुक्रबार १२:१७
Loading...