मेस्सीलाई फकाउन बार्सिलोनाले सबथोक गर्ने : मेस्सीकै रोजाइका चार खेलाडी भित्र्याउन तयार

एजेन्सी, फागुन २८

स्पेनिस फुटबल क्लब बार्सिलोनाका नयाँ अध्यक्ष जोन लापोर्टाले टोलीका कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीलाई क्लब छाड्नबाट रोक्नका लागि सबैखाले प्रयास गर्ने भएका छन् । मेस्सीलाई बार्सिलोनामै रहने गरी फकाउन लापोर्टाले टिमलाई नयाँ ढंगले निर्माण गर्नेदेखि उनले चाहेका नयाँ खेलाडी भित्र्याउन समेत तयार देखिएका छन् । ‘मार्का’का अनुसार लापोर्टा मेस्सीलाई फकाउनका खेलाडी किनबेचमा आगामी समर सिजनमा केही ठूला निर्णय लिन तयार छन् । सकेसम्म मेस्सीलाई रोकेर उनीसहितको टिम नयाँ सिजनका लागि बनाउने प्रयासमा लापोर्टा लागेका हुन् ।

बोर्डको चुनावअघि पनि उनले आफू अध्यक्ष बने प्रभावकारी खेल योजना ल्याएर मेस्सीलाई विश्वासमा लिने र उनलाई क्लबमै राख्न मनाउने बाचा नै गरेका थिए । बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ बाटै आउट भइसकेको अवस्थामा मेस्सीले क्लब छाड्ने सम्भावना झनै बढेपछि लापोर्टाले नयाँ सिजनको तयारी थालिसकेका छन् । त्यसका लागि उनले नयाँ सिजनमा बलियो टोली बनाउन नयाँ खेलाडी अनुबन्धका लागि प्रारम्भिक छलफल थालेको रिपोर्ट छ । खास गरी लापोर्टाले मेस्सीसहितको टोली बनाउन उनीसँग नयाँ सम्झौत गर्न चाहेका छन् । तर, मेस्सीसँग सम्झौता गर्न मेस्सीलाई बार्सिलोनामा रहन राजी गराउनुपर्छ । र, मेस्सी तब मात्रै बार्सिलोना नछाड्न तयार हुन्छन् जब बार्सिलोनामा रहेर उनी ठूला उपाधि जित्ने सम्भावना देख्छन् ।

मेस्सीको भावना र सोच बुझेका लापोर्टाले आगामी सिजन ठूला उपाधि जित्न सक्ने गरी टोली बनाउन मेस्सीकै चाहनालाई प्राथमिकतामा राखेका छन् । जसअनुसार उनले हाल टोलीमा रहेका केही मुख्य खेलाडीलाई बेचेर नयाँ खेलाडी भित्र्याउनेछन् । रिपोर्टअनुसार लापोर्टाले मेस्सीलाई फकाउन उनले चोहका केही खास खेलाडी भित्र्याउन सकिने सम्भावनाबारे सक्रियता बढाएका छन् । ती खेलाडीमध्ये मुख्य प्राथमिकतामा भने पूर्वसहकर्मी फ्रेन्च क्लब पिएसजीका नेइमार नै छन् । यदि नेइमार सम्भव नभए इटालियन इन्टर मिलानका लौटारो मार्टिनेज र जर्मन क्लब बोरुसिया डर्टमुन्डका अर्लिङ हल्यान्डमध्ये एक खेलाडीमा पनि मेस्सी खुसी हुने बताइन्छ । तर, मेस्सीको गहिरो चाहना भने नेइमारको फिर्तीमै देखिन्छ । यता, प्रशिक्षक रोनाल्ड कोम्यान भने फ्रेन्च क्लब लियोनका मेम्फिस डिपेका पछि लागेका छन् ।

त्यसैगरी, मेस्सीले एकदमै मन पराएका खेलाडी हुन्– जर्मन क्लब बार्यन म्युनिखका डिफेन्सिभ मिडफिल्डर जोसुवा किमिच । २६ वर्ष युवा खेलाडीलाई मेस्सीले दुई वर्षअघि नै बार्सिलोनाले भित्र्याओस् भन्ने चाहेका थिए । त्यसैगरी, मेस्सीकै चाहनाअनुसार लापोर्टाले इटालियन युभेन्टसका युवा डिफेन्डर माथिस डि लिग्टलाई भित्र्याउन सकिनेमा छलफल अघि बढेको चर्चा छ । मेस्सीले यसअघि नै बार्सिलोनालाई भित्र्याउन सुझाव दिएका खेलाडी हुन– हाल बार्यन म्युनिखका रहेका अट्याकिङ मिडफिल्डर लियोन गोरेट्जा । २६ वर्षका जर्मन खेलाडीलाई भित्र्याउन मेस्सीले २०१७ मै सुझाव दिएका थिए, जतिबेला गोरेट्जा शाल्केमा थिए । गोरेट्जा अहिले बार्यनका एक मुख्य खेलाडी बनेका छन् ।

प्रकाशित मिति २८ फाल्गुन २०७७, शुक्रबार ०५:५१
Loading...