च्याम्पियन्स लिगमा ‘बार्सिलोनाको जर्सीमा अन्तिम खेल’ खेल्दा मेस्सीका नाममा १२०

एजेन्सी, फागुन २७

युरोपियन च्याम्पियन्स लिग फुटबलमा गत राति स्पेनिस बार्सिलोनाले यो सिजनको अन्तिम खेल फ्रेन्च क्लब पिएसजीसँग खेल्यो । अन्तिम १६ अन्तर्गत दोस्रो लेगको सो खेलपछि बार्सिलोना समग्रमा ५–२ ले पराजित हुँदै प्रतियोगिताबाट आउट भयो । आफ्नो घरमा १–४ को हारपछि दोस्रो लेगमा नतिजा उल्ट्याउन नसक्दा बार्सिलोना लगातार छैटौं सिजन खराब हारका साथ आउट भयो । गत राति पिएसजीको घरमा दोस्रो लेग १–१ को बराबरीमा सकिँदा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले १ दर्शनीय गोल गरेका थिए । त्यसपछि उनी पेनाल्टीमा चुकेका थिए ।

यो सिजनपछि मेस्सीले बार्सिलोना छाड्ने करिब–करिब पक्का छ । यदि क्लबमा कुनै नयाँ परिवर्तन नआए वा मेस्सीले मनस्थिति नबदले अर्को सिजन उनलाई बार्सिलोनाको जर्सीमा देख्न पाइनेछैन । किनभने, यो सिनज सुरु हुनुअघि नै मेस्सीले बार्सिलोना छाड्ने निर्णय गरेका थिए । तर, फ्री ट्रान्सफरमा क्लब छाड्न नपाएपछि उनी बाध्य भएर बार्सिलोनामै रहेका थिए । तर, यो सिजन पनि बार्सिलोनाले ठूला उपाधि नजित्ने भएपछि मेस्सीले बार्सिलोना छाड्ने सम्भावना थप बढेको छ । गत राति बार्सिलोनाले पिएसजीविरुद्ध खेलेको च्याम्पियन्स लिग खेल मेस्सीका लागि बार्सिलोनाको जर्सीमा अन्तिम खेलका रूपमा धेरैले चर्चा गरेका छन् ।

बार्सिलोनासँग यो सिजनभरिका लागि मात्रै सम्झौता रहेका मेस्सीले नयाँ सम्झौता नगरे सिजन सकिएसँगै उनले आफूले चाहेको क्लबमा जहाँ पनि जान पाउँछन् । तर, हालकै अवस्थामा मेस्सीले बार्सिलोनामै भविष्य निरन्तरता दिने सम्भावना कम देखिन्छ । यदि त्यसो भए गत राति पिएसजीविरुद्धको खेल मेस्सीका लागि च्याम्पियन्स लिगको अन्तिम खेल त्यही हुनेछ । हालकै अवस्थामा गत रातिको खेल मेस्सीका लागि बार्सिलोनाको जर्सीमा च्याम्पियन्स लिग खेल मानिदिँदा उनका कूल गोल संख्या १२० भएको छ । गत राति पिएसजीविरुद्ध उनले गरेको गोल १२०औं गोल थियो ।

हाल उमेरले ३४ वर्ष पुगेका मेस्सीले च्याम्पियन्स लिगमा हालसम्म कूल १४९ खेलबाट १२० गोेल पूरा गरेका छन् । उनले सिजन २००४–००५ मा बाट च्याम्पियन्स लिग खेल्न थालेका थिए । र, उनका लागि बार्सिलोनाको जर्सीमा सिजन २०२०–२१ अन्तिम हुने देखिएको छ । यस दौरान मेस्सीले सिंगल सिजनमा सबैभन्दा बढी गोल सिजन २०११–१२ मा ११ खेलबाट १४ गोल गरेका थिए । गत सिजन उनले ८ खेलबाट जम्मा ३ गोल मात्रै गरेका थिए । यस सिजन उनले ६ खेलबाट ५ गोल गरे । मेस्सीले यो सिजन गरेका ५ गोलमध्ये ४ गोल पेनाल्टीमार्फत् गर्दा र १ गोल बक्स बाहिरबाट गरे ।

च्याम्पियन्स लिग इतिहासकै दोस्रो सर्वाधिक गोलकर्ता मेस्सीले कूल १२० गोल गरेका छन् । उनीभन्दा अघि इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डो छन् । उनले १३४ गोल गरेका छन् । ताजा अवस्थामा मेस्सी रोनाल्डोभन्दा १४ गोलले पछि छन् । यस दौरान मेस्सीले कूल चारपटक च्याम्पियन्स लिग उपाधि जितेका छन् । मेस्सी यस प्रतियोगिताका दोस्रो सर्वाधिक गोलकर्ता मात्रै नभएर दोस्रो सर्वाधिक असिस्टकर्ता खेलाडी पनि हुन् । च्याम्पियन्स लिगमा मेस्सीको व्यक्तिगत तथ्यांक यहाँ राखिएको छ–

अवधि – सिजन २००४–००५ देखि – २०२०–२१
सिजन – १७ सिजन
कूल खेल – १४९
कूल गोल – १२०
कूल असिस्ट – ३७
उपाधि संख्या – ४
सर्वाधिक गोल गरेको सिजन – १४ गोल, १२ गोल

प्रकाशित मिति २७ फाल्गुन २०७७, बिहीबार १३:०२
Loading...