‘…….. रोनाल्डो अझै पनि विश्वकै सर्वोत्कृष्ट छन्’

एजेन्सी, फागुन २७

पोर्चुगिज क्लब पोर्टोका डिफेन्डर पेपेले इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोले छैटौंपटक च्याम्पियन्स लिग जित्न नसके पनि उनी विश्वकै उत्कृष्ट खेलाडी रहेको बताएका छन् । अघिल्लो दिन च्याम्पियन्स लिगको अन्तिम १६ मा पेपेको टिमले रोनाल्डोको टिम युभेन्टसलाई एग्रीगेटमा हराएर आउट गराएको थियो । युभेन्टसले आफ्नो मैदानमा ३–२ को जित निकाले पनि पहिलो लेग हारेकाले अन्तिम १६ बाटै आउट हुन बाध्य भयो । पोर्टोको घरमा युभेन्टस २–१ ले हर्दा आफ्नो घरमा ३–२ ले जित्यो । तर, खेल समग्रमा ४–४ को बराबरी भए पनि बढी अवे गोलका आधारमा पोर्टो अन्तिम आठमा पुग्यो ।

सो खेलपछि मिडियासँग कुरा गर्नेत्रममा पेपेले रोनाल्डोको बचाउ गर्दै उनले आफ्नो उत्कृष्टता साबित गर्न छैटौं च्याम्पियन्स जित्नु आवश्यक नरहेको बताए । पेपे र रानाल्डो पोर्चुगलको राष्ट्रिय टोलीमा सँगै खेल्छन् । उनीहरूले विगतमा स्पेनिस रियल मड्रिडमा पनि लामो समय एकसाथ खेलेका थिए । उनीहरूले करिअरमै पहिलोपटक यस सिजन क्लब फुटबलमा एकअर्काविरुद्ध खेलेका हुन । रोनाल्डो र पेपेबीच निकै राम्रो व्यक्तिगत सम्बन्ध रहेको छ । राष्ट्रिय टिमका सहकर्मीको टिम आफ्नो टिमसँग हारेर आउट भएपछि पेपेले रोनाल्डोलाई मैदानमै सान्त्वाना पनि दिएका थिए ।

‘क्रिस्टियानोको टिम हार्दा मलाई धेरै दुःख लाग्छ । आज पनि उनी जित्न चाहन्थे । तर, खेल हामीले जित्यौं । पोर्टोले जित्दा म खुसी छु, क्रिस्टियानो हार्दा दुःखी छु,’ पेपेले भने, ‘तर, क्रिस्टियानो च्याम्पियन्स लिगबाट आउट भए पनि उनी अझै विश्वकै सर्वोत्कृष्ट खेलाडी हुँदै हुन् । उनले आफूलाई साबित गर्न अब केही जित्नु आवश्यक छैन,’ पेपेले भनेका छन्, ‘तर, उनी युभेन्टसबाट यो प्रतियोगिता जित्न चाहन्छन् । उनले आगामी दिनमा यो सफलता प्राप्त गर्न सक्छन् । खेलपछि मैले उनीसँग कुरा गरें । र, सम्हालिन भनेको छु । उनी निकै निराश र दुःखी छन् । तर, खेलमा हार–जित हुन्छ, यो उनले बुझ्छन् ।’

अर्को प्रसंगमा कुरा गर्दै पेपेले अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोसँग आफूले यस वर्षको युरो कप सँगै खेल्ने बताएका छन् । ‘समय कसरी अघि बढ्छ थाहा छैन । सम्भवतः क्रिस्टियानोसँग युरो कप मेरो अन्तिम अन्तर्राष्ट्रिय टुर्नामेन्ट हुन सक्छ । कतार विश्वकपसम्म पनि हामी सँगै हुन सक्छौं । तर, यो सम्भावना कम छ । यी कुरा अब समयले निर्भर गर्नेछन्,’ पेपेले भावुक हुँदै भने, ‘क्रिस्टियानोसँग मैले लामो समय सहकर्मी बनेर बिताएँ । सायद अब यो यात्रा अन्त्य गर्ने समय धेरै नजिक आइरहेको छ । हामी जति समय सँगै खेल्छौं, रमाइलो गरेर खेल्छौं । जित्नकै लागि खेल्छौं ।’

प्रकाशित मिति २७ फाल्गुन २०७७, बिहीबार ०५:५०
Loading...