बिल्बाओलाई एथ्लेटिकोले हरायो : बार्सिलोना झन् पछाडि छाडियो

काठमाडौं, फागन २७

स्पेनिस ला लिगा फुटबलमा लिग लिडर एथ्लेटिको मड्रिडले शीर्ष स्थानमा अग्रता बढाएको छ । गत राति लिगको २६औं साताको खेलमा एथ्लेटिकोले आफ्नो घरेलु मैदानमा पाहुना टोली एथ्लेटिक बिल्बाओमाथि २–१ को कमब्याक जित निकाल्दै उपाधि होडमा पकड कायमै राखेको हो । वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा एथ्लेटिकोले पेनाल्टी गोलको मदतमा खेल जितेको हो । यो जितपछि उसले शीर्ष स्थानमा सुविधाजनक अग्रता पनि जोगाउन सकेको छ । एथ्लेटिकोले अब लिगमा अन्य टिमले जति नै बराबरी २६ खेल पूरा गरेको छ ।

एथ्लेटिकोको घरेलु मैदानमा पाहुना टोली बिल्बाओले पहिला अग्रता लिएको थियो । खेलको २१औं मिनेटमा इनाकी विलियम्सको पासमा इकार मुनिएनले गो गरेर एथ्लेटिकोलाई झट्का दिएका थिए । तर, पहिलो हाफमो इन्जुरी समयमा मार्कोस लोरेन्टोले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । त्यसपछि दोस्रो हाफ सुरु भएको ५ मिनेटमै एथ्लेटिकोले पेनाल्टी पायो, जसमा लुइस स्वारेजले पेनाल्टी प्रहारमा गोल गर्दै खेल २–१ बनाए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि एथ्लेटिकोले सोही अग्रता बचाएर खेल २–१ ले जित्यो ।

अब यो जितपछि एथ्लेटिकोले लिगका २६ खेल सकिँदा कूल ६२ अंक बनाएको छ । उसले दोस्रो स्थानको बार्सिलोनााई समान खेलपछि स्पष्ट ६ अंकले पछि पारेको छ । बार्सिलोनाको खातामा ५६ अंक छ । तेस्रो स्थानमा रहेको रियल मड्रिडले ५४ अंक जोडेको छ । रियल लिग लिडर एथ्लेटिको भन्दा ८ अंकले पछि छ भने दोस्रो स्थानको बार्सिलोनाभन्दा मात्रै २ अंकले पछि छ । अब लिगका सबै टिमले २६औं साताको खेल खेलिसकेका छन् । अब शुक्रबार रातिबाट लिगको २७औं साताका खेल हुनेछन् । लिगमा अब १२ खेल मात्रै बाँकी रहेका छन् ।

प्रकाशित मिति २७ फाल्गुन २०७७, बिहीबार ०३:५६
Loading...