बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ बाटै आउट : पिएसजी क्वार्टरफाइनलमा

काठमाडौं, फागुन २७

स्पेनिस महारथि बार्सिलोना लगातार छैटौं सिजन युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट आउट भएको छ । यसपटक उसलाई फ्रेन्च क्लब पिएसजीले अन्तिम १६ बाटै अर्को खराब नतिजाको सिकार बनाउँदै घरको बाटो देखाइदिएको हो । बार्सिलोना पिएसजीसँग समग्रमा ५–२ को हार भोग्दै प्रतियोगिताबाट आउट भएको हो । यता, पिएसजी भने लिओनल मेस्सीको टिममाथि समग्रमा प्रभावशाली जितका साथ प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान पिएसजीको घरेलु मैदानमा भएको दोस्रो लेगको खेल १–१ को बराबरीमा सकियो ।

तर, यसअघि बार्सिलोनालाई उसकै घरेलु मैदानमा १–४ को फराकिलो अन्तरमा हराएकाले पिएसजीले सोही जितको मदतमा एग्रीगेटमा ५–२ को राम्रो नतिजाका साथ अर्को चरण पुग्दा बार्सिलोना भने लगातार छैटौं वर्ष यस प्रतियोगिताबाट पीडादायी हार भोग्दै आउट हुन पुग्यो । दोस्रो लेगमा बार्सिलोनाले पिएसजीको घरमा उत्कृष्ट प्रदर्शन गरे पनि समयमै आवश्यक गोल गर्न नसक्दा उसले प्रतियोगिता गुमायो । बार्सिलोनाका कप्तान लिओनल मेस्सीले दोस्रो लेगमा निकै महत्त्वपूर्ण समयको पेनाल्टी गुमाएका थिए ।

पिएसजीको घरेलु मैदानमा खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । खेलमा पहिला घरेलु टोली पिएसजीले अग्रता लिएको थियो । खेलको ३०औं मिनेटमा केलिएन एमबाप्पेले पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बक्समा बार्सिलोनाका डिफेन्डर क्लेमेट लेङलेटले माउरो इकार्डीमाथि फउल गरेपछि रेफ्रीले भिएआरमार्फत् रिभ्यु गरिकन पिएसजीलाई पेनाल्टीको अवसर दिएका थिए, जसमा एमबाप्पेले कुनै गल्ती नगरी बललाई जाली चुमाए ।

पेनाल्टी गोल खाएपछि बार्सिलोना चाँडो गरी खेलमा फर्कियो ।३७औं मिनेटमा कप्तान लिओनल मेस्सीले बक्स बाहिरबाट बुलेट सटमा दर्शनीय गोल गर्दै खेल १–१ को बराबरी बनाए । पेड्रीको पासमा मेस्सीले बार च्यापेर हानेको कडा प्रहार रोक्न पिएसजीका गोलकिपर केलर नाभासले सक्दो प्रयास गरे पनि सकेनन् । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टी पायो । तर, महत्त्वपूर्ण गोल हुन पेनाल्टीमा कप्तान मेस्सी चुके । उनको पेनाल्टी प्रहार नाभासले रोकेर ठूलो झट्का दिए । खेलमा फर्किन ज्यादै महत्त्वपूर्ण पेनाल्टी मेस्सीले मिस गरेपछि पहिलो हाफ १–१ मा सकियो ।

पहिलो हाफमा बार्सिलोनाले पिएसजीमाथि पूर्ण दबाब बनाएर खेल्यो । पिएसजीलाई बार्सिलोनाको आक्रमण रोक्न नै भाइनभ्याई भयो । पहिलो हाफमा बार्सिलोनाका उसामान डेम्बेलेले दुई सहज मौका खेर फाल्दा कप्तान मेस्सी पनि एक निकै सहज अवसरमा चुकेका थिए । पहिलो हाफमा बार्सिलोनाले कूल १३ सट हान्दा ९ सट अन टार्गेट हाने पनि १ भन्दा बढी गोल निकाल्न सकेन । पहिलो हाफमा बार्सिलोनाले ७३ प्रतिशत बल आफ्नो पकडमा राखेको थियो । त्यसपछि दोस्रो हाफमा दुवै तर्फबाट कुनै थप गोल नभएपछि खेल १–१ को बराबरीमा सकियो । र, पिएसजीले समग्रमा ५–२ को प्रभावशाली जित निकाल्यो ।

प्रकाशित मिति २६ फाल्गुन २०७७, बुधबार २१:५०
Loading...