पिएसजी भर्सेस बार्सिलोना : पहिलो हाफमा १–१ को बराबरी, मेस्सीले मिस गरे पेनाल्टी

काठमाडौं, फागुन २७

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा अहिले फ्रेन्च क्लब पिएसजी र स्पेनिस क्लब बार्सिलोनाको खेल जारी छ । पिएसजीको घरेलु मैदानमा जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ । खेलमा पहिला घरेलु टोली पिएसजीले अग्रता लिएको थियो । खेलको ३०औं मिनेटमा केलिएन एमबाप्पेले पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बक्समा बार्सिलोनाका डिफेन्डर क्लेमेट लेङलेटले माउरो इकार्डीमाथि फउल गरेपछि रेफ्रीले भिएआरमार्फत् रिभ्यु गरिकन पिएसजीलाई पेनाल्टी दिएका थिए, जसमा एमबाप्पेले कुनै गल्ती गरेनन् ।

पेनाल्टी गोल खाएपछि बार्सिलोना चाँडो गरी खेलमा फर्कियो ।३७औं मिनेटमा कप्तान लिओनल मेस्सीले बक्स बाहिरबाट बुलेट सटमा गोल गर्दै खेल १–१ को बराबरी बनाए । पेड्रीको पासमा मेस्सीले बार च्यापेर हानेको कडा प्रहार रोक्न पिएसजीका गोलकिपर केलर नाभासले सक्दो प्रयास गरे पनि सकेनन् । त्यसपछि पहिलो हाफको इन्जुरी समयम बार्सिलोनाले पिएसजी पायो । तर, कप्तान मेस्सी चुके । उनको पेनाल्टी प्रहार नाभासले रोकेर मेस्सीलाई झट्का दिए । खेलमा फर्किन ज्यादै महत्त्वपूर्ण पेनाल्टी मेस्सीले मिस गरेपछि पहिलो हाफ १–१ मा सकियो ।

पहिलो हाफमा बार्सिलोनाले पिएसजीमाथि पूर्ण दबाब बनाएर खेल्यो । पिएसजीलाई बार्सिलोनाको आक्रमण रोक्न नै भाइनभ्याई भयो । पहिलो हाफमा बार्सिलोनाका उसामान डेम्बेलेले दुई सहज मौका खेर फाल्दा कप्तान मेस्सी पनि एक सहज अवसरमा चुकेका थिए । पहिलो हाफमा बार्सिलोनाले कूल १३ सट हान्दा ९ सट अन टार्गेट हाने पनि १ भन्दा बढी गोल निकाल्न सकेन । पहिलो हाफमा बार्सिलोनाले ७३ प्रतिशत बल आफ्नो पकडमा राखेको थियो ।

पहिलो हाफको खेलपछि समग्रमा पिएसजीले अझै पनि ५–२ को अग्रता बनाएको छ । अब दोस्रो हाफमा कमब्याक जितका लागि बार्सिलोनालाई १ गोल पनि नखाईकन ४ गोल चाहिन्छ । ९० मिनेटमा ३ गोल मात्रै गरे पनि खेल समग्रमा ५–५ को बराबरी भई ३० मिनेटको थप समय वा पेनाल्टीसम्म जानेछ ।

प्रकाशित मिति २६ फाल्गुन २०७७, बुधबार २०:३५
Loading...