एमबाप्पे र मेस्सीलाई उछिन्दै च्याम्पियन्स लिगमा हल्यान्डले बनाए दुर्लभ कीर्तिमान

एजेन्सी, फागुन २६

जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार फरवार्ड अर्लिङ हल्यान्डले युरोपियन च्याम्पियन्स लिग फुटबलमा एक दुर्लभ कीर्तिमान बनाएका छन् । मात्रै २० वर्षका नर्वेका खेलाडी उनी अब युरोपकै ठूलो प्रतियोगितामा सबैभन्दा चाँडो सबैभन्दा धेरै गोल गर्ने कान्छा खेलाडी बनेका छन् । उनले फ्रेन्च क्लब पिएसजीका अर्का स्टार केलियन एमबाप्पेका नाममा रहेको रेकर्ड भंग गर्दै आफ्नो नाममा लेखाएका हुन् । हल्यान्ड अब यस प्रतियोगितामा २१ वर्ष नलागी २० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

यसअघि यो दुर्लभ रेकर्ड पिएसजीका फ्रेन्च फरवार्ड एमबाप्पेका नाममा थियो । तर, गत राति २ गोल गर्दै हल्यान्डले एमबाप्पेका नाममा रहेको रेकर्ड आफ्नो नाममा सरुवा गराए । एमबाप्पेले २१ वर्ष लाग्नुअघि च्याम्पियन्स लिगमा कूल १९ गोल गरेका थिए, जुन रेकर्ड गोल संख्या थियो । एमबाप्पेले यो रेकर्ड बनाएको एक वर्षपछि हल्यान्डले उनको रेकर्ड भंग गरे । हल्यान्डले २१ वर्ष नलाग्दै च्याम्पियन्स लिगमा २० गोल पूरा गरेका छन्, जुन एमबाप्पेको भन्दा राम्रो रेकर्ड हो ।

गत राति अन्तिम १६ अन्तर्गत दोस्रो लेगको खेलमा डर्टमुन्ड र सेभिल्लाले २–२ को बराबरी खेल्दा हल्यान्डले १ पेनाल्टीसहित २ गोल गरेका थिए । सोही २ गोलको मदतमा उनले यस प्रतियोगितामा गरेको कूल गोल संख्या पनि २० पुगेको छ । हल्यान्डले मात्रै १५ खेलबाट २० गोल पूरा गरेका हुन् । जसमा हल्यान्डले पूर्वक्लब रेड बुल साल्जवर्गमा रहँदा ७ खेलबाट ८ गोल गरेका थिए, डर्टमुन्ड सरुवा भइकन उनले ८ खेलबाट १२ गोल गरेका छन् ।

युइएफएले आफ्नो अफिसियल वेबसाइटमा प्रकाशित गरेको तथ्यांकअनुसार हल्यान्डले २०१९ मा ८ गोल गर्दा २०२० मा पनि ८ गोल नै गरेका छन् । यस वर्ष २०२१ मा उनले ४ गोल गरिसकेका छन् । जसमा ८ गोल पूर्वक्लब साल्जवर्गका लागि र १२ गोल डर्टमुन्डका लागि गरेका छन् । जसमा उनले ४ गोल दाहिने खुटटाले गर्दा १५ गोल देब्रे खुट्टाले गरेका छन् । त्यसैगरी, १ गोल भने हेडिङमार्फत् गरेका छन् । उनले गरेका गोलमध्ये १२ गोल होम ग्राउन्ड र ८ गोल भने अवे मैदानमा गरेका छन् ।

हल्यान्डले आफ्नो उमेर ठीक २० वर्ष २३१ दिन पुग्दा यस प्रतियोगितामा २० गोल पूरा गरे । यसअघि पिएसजीका एमबाप्पेले २१ वर्ष ३५५ दिन उमेर हुँदा २० गोल पूरा गरेका थिए । त्यसपछि बार्सिलोनाका लिओनल मेस्सी तेस्रो स्थानमा छन् । मेस्सीले आफ्नो उमेर २२ वर्ष १६६ हुँदा च्याम्पियन्स लिगमा २० गोल गरेका थिए । हाल इटालियन युभेन्टसमा रहेका क्रिस्टियानो रोनाल्डोले भने आफ्नो उमेर २४ वर्ष २०६ दिन हुँदा मात्रै यस प्रतियोगितामा २० गोल गरेका थिए । यी सबै खेलाडीभन्दा हल्यान्ड अब सबैभन्दा चाँडो र कम उमेरमा २० गोल गर्ने खेलाडी बनेका छन् ।

हालको ताजा अवस्थामा च्याम्पियन्स लिगको इतिहासकै सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डो हुन् । उनले हासम्म कूल १३४ गोल गरेका छन् । उनीपछि स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी छन् । उनले ११९ गोल गरेका छन् । तेस्रो स्थानमा जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की छन् । उनले कूल ७२ गोल गरेका छन् । यो समयका स्टार खेलाडीद्वय हल्यान्डले २० गोल पूरा गरेका छन् भने पिएसजीका एमबाप्पेले हालसम्म २४ गोल गरेका छन् ।

प्रकाशित मिति २६ फाल्गुन २०७७, बुधबार १५:०६
Loading...