पेरिसमा पिएसजीले ‘असली बार्सिलोना’ हेर्न पाउने !

काठमाडौं, फागुन २६

स्पेनिस फुटबल क्लब बार्सिलोनाका युवा स्टार फ्रेन्की डे जोङले फ्रेन्च क्लब पिएसजीविरुद्ध च्याम्पियन्स लिगमा आफूहरूले कमब्याक गर्न सक्ने सम्भावना जीवितै रहेको बताएका छन् । खेलअघि प्रेस कन्फ्रेन्समा सहभागी हुँदै डच खेलाडीले पिएसजीको मैदानमा १–४ को नतिजा उल्ट्याउन धेरै कठिन हुने भए पनि बार्सिलोनाले त्यसका लागि मर्नबाहेक सबै प्रयास गर्ने बताएका छन् । पिएसजीलाई चेतावनीमूलक सन्देश दिँदै उनले ‘पेरिसमा असली बार्सिलोना देखाउने’ मात्रै बताएनन्, आफूहरूले यो खेल गोल गर्नका लागि खेल्ने बताएका छन् । खेलअघि उनी निकै हिम्मतवाला देखिएका थिए ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगको निर्णायक खेल आज राति पिएसजी र बार्सिलोनाबीच पिएसजीको मैदानमा हुँदैछ । नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुने खेल दुवैका लागि निर्णायक हो । पाहुना टोली बार्सिलोना आज पिएसजीको घरमा पहिलो लेगमा भोगेको १–४ हारको नतिजा उल्ट्याउने लक्ष्यका साथ उत्रिनेछ । उसलाई पेरिसमा आज सजिलैसित नतिजा उल्ट्याउन १ गोल पनि नखाई कम्तीमा ०–४ को जित आवश्यक पर्छ । सबैभन्दा सजिलो नतिजा बार्सिलोनाका लागि यही नै हुनेछ । पिएसजीले आज जितिरहनु आवश्यक छैन । उसलाई त ०–३ ले हारे पनि केही फरक पर्दैन । तर, बार्सिलोनाले भने आज पेरिसमा चमत्कार नै गर्नुपर्छ ।

‘सबैलाई थाहा छ, हाम्रा लागि यो ज्यादै कठिन खेल हुनेवाला छ । अवे मैदानमा १–४ को नतिजा उल्ट्याउन एकदमै कठिन हुन्छ । तर, यो असम्भव नै भने छैन । उनीहरूले हाम्रो मैदानमा ४ गोल गर्न सक्छन् भने हामी उनीहरूको मैदानमा ४ गोल वा ५ गोल गर्न किन सक्दैनौं ? हामी यही सोच र आत्मबल बोकेर पेरिस उत्रिनेछौं,’ डे जोङले भने, ‘खेल उनीहरूको हातमा छ । तर, हामी खेल खोस्नका लागि लड्नेछौं । यस खेलमा हामी मर्नबाहेक सबै कुरा गर्नेछौं । हामी दबाबमा छौं । तनावमा छौं । तर, एकताबद्ध छौं । हामी पेरिसमा सजिलै घुँडा टेक्नेवाला छैनौं ।’

डे जोङका अनुसार पिएसजीविरुद्ध बार्सिलोेनाले आफ्नो स्तरको खेल देखाउनुपर्ने बताएका छन् । यदि टिमले सुरुआतबाटै योजना र रणनीतिअनुसार खेलेर खेलमा चाँडो अग्रता बनाउन सके नतिजा उल्टिन असम्भव नरहेको बताएका छन् । ‘हामी पेरिसमा असली बार्सिलोना र बार्सिलोनाको स्तर देखाउन चाहन्छौं । हामीले उनीहरू विरुद्ध सुरुआतबाटै योजना र रणनीतिअनुसार खेल्न सक्यौं र चाँडो अग्रता बनायौं भने ४ वा ५ गोल गर्न असम्भव छैन,’ डे जोङले भने, ‘हामीसँग अहिले लड्न र अन्तिम समयसम्म लड्नबाहेक कुनै उपाय छैन । यो खेल हामी उनीहरूलाई रोकेर जित्दैनौं, गोल गरेर मात्रै जित्छौं । तसर्थ, यो खेल हामी गोल गर्नका लागि खेल्छौं ।’

प्रकाशित मिति २६ फाल्गुन २०७७, बुधबार १०:११
Loading...