१० खेलाडीमा सीमित पोर्टोले युभेन्टसलाई च्याम्पियन्स लिगबाट आउट गरायो

काठमाडौं, फागुन २६

इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै आउट भएको छ । अन्तिम १६ अन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा पोर्चुगिज क्लब पोर्टोले युभेन्टसलाई समग्रमा अवे गोलमा पछि पार्दै क्वार्टफाइनल प्रवेश गरेको । पहिलो र दोस्रो लेगका खेल सकिँदा नतिजा समग्रमा ४–४ को बराबरी भए पनि बढी अवे गोलका आधारमा पोर्टोले युभेन्टसलाई पछि पारेर क्रिस्टियानो रोनाल्डोको टिमलाई निकै चाँडो प्रतियोगिताबाट आउट गरायो । आफ्नो घरमा युभेन्टसले समयमै गोल गर्न नसक्दा निकै निराश नतिजा भोग्य बाध्य भयो ।

आफ्नो घरमा भएको दोस्रो लेग युभेन्टसले ३–२ गोलअन्तरले जिते पनि पहिलो लेग २–१ ले हार्दाको नतिजा उसलाई महँगो पर्न गयो । युभेन्टसको घरमा पोर्टोले २ गोल गरेपछि युभेन्टस संकटमा परेको थियो । खेल निर्धारित ९० मिनेटमा ३–३ को बराबरी भएपछि ३० मिनेट थप भएको थियो, जहाँ पाहुना टोलीले गोल गर्दै गर्दै नतिजा निकाल्यो । पोर्टो खेलको ५४औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । तैपनि, युभेन्टसले त्यसको फाइदा लिन सकेन ।

९० मिनेटपछि खेल थप समयमा जाँदा युभेन्टसलाई खेल जित्न गोल नखाई १ गोेल गरे पुग्ने अवस्था थियो । तर, त्यसैबेला उसले १ गोल खाएपछि उसलाई खेल जित्न २ गोल चाहिने भयो । जहाँ उसले ११७औं मिनेटमा १ गोल त फर्कायो । तर, बाँकी समयमा अर्को गोल गर्न नसक्दा खेल समग्रमा ४–४ को बराबरीमा सकियो । तब युभेन्टसको घरमा २ अवे गोल गरेका कारण पोर्टोले अघि रहेर खेल जित्यो । खेलको ११५औं मिनेटमा फ्रि किकमार्फत् गोल खाएपछि युभेन्टस संकटमा परेको थियो । युभेन्टसका लागि युवा खेलाडी फेडरिको किइजाले टिम संकटमा परेका बेला २ गोल र आड्रन राबिओटले १ गरे पनि टिमको हार भने पन्छिएन ।

युभेन्टसको घरमा पोर्टोले १९औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेर अग्रता बनाएको थियो । बक्समा डिफेन्डर मेरिह डेमिरालले फउल गरेपछि रेफ्रीले भिएआरमार्फत् पोर्टोलाई पेनाल्टी दिने निर्णय गरेका थिए, जसमा सर्जियो ओलिभेराले गोल गर्दै खेल ०–१ बनाए । सो गोल खाएपछि युभेन्टसमाथि दबाब बढेको थियो । त्यसपछि युभेन्टसलाई खेल बराबरी गर्न २ गोल आवश्यक थियो, जुन किइजाले गरे । दोस्रो हाफ सुरु हुनासाथ ४९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा किइजाले सुन्दर गोल गरेपछि टिमको आशा जगाएका थिए ।

त्यसपछि खेलको ६३औं मिनेटमा किइजाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टसले खेलमा २–१ को अग्रता लियो । र, समग्रमा खेल ३–३ को बराबरी भयो । यो स्थितिमा दुवै टिमको होम एन्ड अवे समेत गरी गोल बराबरी भएकाले खेल पनि बराबरी अवस्थामा थियो । यो स्थितिमा युभेन्टसलाई खेल जित्न १ गोल पुग्ने थियो । तर, निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलमा ३० मिनेट थप भयो, जहाँ घरेलु टोली स्तब्ध बन्यो । ३० मिनेटको पहिलो हाफमा पनि कुनै गोल भएन । दुवै टिम विजयी गोलको खोजी संघर्ष गरिरहेका थिए ।

तर, ११५औं मिनेटमा पोर्टोका ओलिभेराले नै फ्रि किकमार्फत् गोल गरे । उनले मानव पर्खाख मुनिबाट बार च्याप्दै हानेको भुइँ सटले जाली चुमेको थियो । उनको प्रहार युभेन्टसका गोलकिपरले रोक्न खोजे पनि कडा प्रहारले उनको हात पन्छाउँदै जाली चुम्यो । सम्भव हुने बल गोलकिपर सिजेस्नीले क्लियर गर्न नसक्दा अन्ततः युभेन्टसले अन्तिम घडीमा गोल खायो । सो गोलपछि खेल जित्न युभेन्टसलाई बाँकी ५ मिनेटमा २ गोल आवश्यक थियो । खेलको ११७औं मिनेटमा राबिओटले फ्रि हेडरमा गोल गरेर आशा जगाएका थिए ।

तर, बाँकी समयमा युभेन्टसले गोल गर्न सकेन । खेलको अन्तिम २ मिनेट बाँकी छँदा रोनाल्डोको कडा हेडिङ प्रहार पोर्टोको गोलकिपरले रोकिदिएपछि युभेन्टसका सबै सम्भावना सकिए । र, खेल पोर्टोले जित्यो । दोस्रो लेग पोर्टो ३–२ ले हारे पनि पहिलो लेगको नतिजा जोड्दा समग्रमा ४–४ भयो । र, अवे मैदानमा धेरै गोल गरेका आधारमा ऊ प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्न सफल भयो । युभेन्टसको घरमा गरेको २ गोल पोर्टोका लागि निकै मूल्यवान साबित भयो भने युभेन्टसले पोर्टो ५४औं मिनेटमै १० खेलाडीमा समेटिँदाको फाइदा उठाउन सकेन ।

आफ्नो घरेलु मैदानमा युभेन्टसले कूल ३१ पटक आक्रमणका मुभ बनाएको थियो । त्यसमा उसले १३ सट अन टार्गेट हानेको थियो । उसले कूल ६९ प्रतिशत बल आफ्नो पकडमा राखेर ७८४ सफल पास खेलेको थियो । तर, आफ्नै मैदानमा उसले गोल पोस्ट जोगाउन नसक्दा जित्ने खेल पनि गुमाउन बाध्य भयो । यस खेलमा प्रमुख खेलाडी रोनाल्डोको व्यक्तिगत प्रदर्शन खास प्रभावकारी रहेन । फेडरिको किइजा र राबिओटले टिमलाई संकटका बेला बचाउन खोजेका थिए । तर, अन्य खेलाडीले आवश्यक परेका बेला गोल निकाल्न नसक्दा युभेन्टस लगातार तेस्रो वर्ष च्याम्पियन्स लिगबाट आउट भयो । रोनाल्डो युभेन्टसमा अनुबन्ध भएपछि टिम च्याम्पियन्स लिगको सेमिफाइनलसमेत पुग्न सकेको छैन ।

प्रकाशित मिति २५ फाल्गुन २०७७, मंगलवार २२:४४
Loading...