गम्भीर चोट बोकेका विमलको कतारमा सफल अप्रेसन

काठमाडौं, फागुन २५

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका स्टार फरवार्ड विमल घर्तीमगरको खुट्टाको सफल अप्रेसन भएको छ । विमलको खुट्टाको चोटका लागि कतारमा अप्रेसन गरिएको हो । अप्रेसन कतारस्थित अस्पेटार अस्पतालमा मंगलबार भएको हो । विमल आफैंले अप्रेसन सफल भएको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् । केही समयअघि प्रशिक्षण दौरान घुँडामा गम्भीर चोट परेपछि विमल मैदान बाहिर थिए । नेपाली डाक्टरको सल्लाहमा उनको अप्रेसन कतारमा भएको हो ।

विमलको अप्रेसन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार फुटबल संघको समन्वयमा अप्रेसन गरिएको हो । त्यहाँ विमलको अप्रेसनका लागि कतार फुटबल संघले सहयोग गरेको छ । विमलले राष्ट्रिय टिमको प्रशिक्षण गर्नेक्रममा चोट बोकेका थिए । उनको दाहिने घुँडाको लिगामेन्ट च्यातिँदा गम्भीर चोट परेको थियो, जसका कारण विमल लामो समय मैदान बाहिर रहनुपर्नेछ ।

विमलको अप्रेसन हुनुअघि राष्ट्रिय टोलीकै अर्का खेलाडी मिडफिल्डर विक्रम लामाको पनि सफल अप्रेसन भएको थियो । त्यसपछि विमलको भएको हो । कोरोना भाइरस महामारीका कारण विमलको उपचार तथा शल्यक्रियामा केही ढिलाइ भएको हो । विमल पुस पहिलो साता घाइते भएका थिए । विक्रम र विमल गत माघ ३ गते सँगै उपचारका लागि कतार पुगेका थिए । विमल र विक्रम दुवैको उपचार खर्च एन्फाले नै व्यहोर्नेछ । यो अप्रेसनपछि विमललाई मैदान फर्किन करिब एक वर्ष समय लाग्ने जनाइएको छ ।

प्रकाशित मिति २५ फाल्गुन २०७७, मंगलवार १६:१८
Loading...