पोर्टोसँग नतिजा उल्ट्याउनुपर्ने चुनौती : खेलअघि रोनाल्डोको यस्तो सन्देश

काठमाडौं, फागुन २४

युरोपियन च्याम्पियन्स लिग फुटबलमा भोलिबाट अन्तिम १६ अन्तर्गत दोस्रो लेगका निर्णायक खेल हुँदैछन् । भोलि पहिलो खेलमा इटालियन युभेन्टस र पोर्चुगिज क्लब पोर्टोको खेल हुँदैछ । यो खेल युभेन्टसको घरेलु मैदानमा हुनेछ । यसअघि पोर्टोको घरेलु मैदानमा भएको पहिलो लेगमा युभेन्टस २–१ ले पराजित भएको छ । भोलि आफ्नो मैदानमा होम लेग हुँदा युभेन्टसमाथि पहिलो लेगको नतिजा उल्ट्याउनुपर्ने दबाब छ । यस खेलमा युभेन्टसलाई गोल नखाई कम्तीमा १–० को जित भए पनि काफी हुन्छ । यता, पोर्टोका लागि भने भोलि ०–० को जित भए पनि पुग्छ । पहिलो लेगमा २–१ को जित भएकाले पोर्टोलाई केही सजिलो छ भने अवे लेगमा १ गोल गरेकाले युभेन्टसलाई पनि केही सहजता छ ।

सो खेलअघि युभेन्टसका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डोले सामाजिक सन्जालमार्फत् सन्देश दिँदै पोर्टोसँगको खेलमा भेट्ने बताएका छन् । उनले सांकेतिक रूपमा पोर्टोविरुद्ध आफू र आफ्नो टिम पुनरागमन गर्न तयार रहेको सन्देश दिएका हुन् । टुरिनमा दोस्रो लेग खेल्नका लागि निकै उत्सासहित रोनाल्डो होम लेगमा उत्कृष्ट प्रदर्शनका लागि तयार देखिएका छन् । उनले इन्स्टाग्रामको स्टोरीमा एक तस्बिरसँगै लेखेका छन्– ‘च्याम्पियन्स लिग, मंगलबार भेटौंला ।’

यसअघि पहिलो लेगमा रोनाल्डो सहितको टिम पोर्टोको घरेलु मैदानमा पराजित भएको थियो । सो खेलमा रोनाल्डो खेले पनि गोलविहीन बनेका थिए । २–० को हार नजिक पुगेका बेला अन्तिम समयमा फेडरिको किइजाले गोल गरेर हारलाई २–१ मा छोट्याएका थिए । सो खेलपछि किइजाले पहिलो लेगमा गरेको अवे गोलले आफूहरूलाई दोस्रो लेगमा सजिलो बनाउने बताएका थिए । खेलपछि उनले भनेका थिए, ‘यो हामीले चाहेको नतिजा थिएन । तर, आज गरेको १ गोलले हामीलाई दोस्रो लेगमा उत्साहित बनाउनेछ । दोस्रो लेगमा हामी आफ्नो काम गर्नेछौं । हामीलाई यो हारले दबाब बढाएको छ तर हामीलाई डर छैन ।’

रोनाल्डो च्याम्पियन्स लिगमा अक्सर महत्त्वपूर्ण चरणमा उच्च प्रदर्शन गर्ने खेलाडी हुन् । विगतमा उनले पहिलो लेगमा आफ्नो टिम पछि परेका बेला दोस्रो लेगमा आफ्नै नायकत्वमा टिमलाई सम्हालेर जिताएका छन् । दुई वर्षअघि एथ्लेटिको मड्रिडको घरमा अन्तिम १६ को पहिलो लेग २–० ले हार्दा आफ्नो मैदानमा रोनाल्डोकै ह्याट्रिक गोलको मदतमा युभेन्टस कमब्याक जित निकालेर अन्तिम आठमा प्रवेश गरेको थियो । यसपटक पनि युभेन्टसका लागि कमब्याक गर्न रोनाल्डो सहयोगी बन्नेछन् । र, रोनाल्डो स्वयंले खेलअघि सन्देश दिँदै अर्को कमब्याक जितका लागि आफू तयार रहेको बताएका छन् । जारी सिजन रोनाल्डो समग्रमा उच्च लयमा छन् । घरेलु लिगमा उनले २० गोल गरिसकेका छन् भने च्याम्पियन्स लिगमा ५ खेलबाट ४ गोल गरेका छन् ।

प्रकाशित मिति २४ फाल्गुन २०७७, सोमबार १४:२५
Loading...