आज लिग लिडर इन्टर मिलान र एटलान्टा खेल्दै : युभेन्टसलाई इन्टरको हारको प्रतीक्षा

काठमाडौं, फागुन २४

इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा आज राति लिग लिडर इन्टर मिलान यो सिजनको २६औं खेल खेल्दै छ । यो खेलका लागि उसले पाँचौं स्थानमा रहेको एटलान्टालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा मिलान २५ खेलपछि ५९ अंकका साथ शीर्ष स्थानमा छ । उसले यो सिजन १८ खेल जितेर ५ खेल बराबरी गरेको छ भने मात्रै २ खेल हारेको छ । उसले लिगका पछिल्ला ६ खेलमा लगातार जित हात पारेको छ । आज राति ऊ आफ्नो मैदानमा उत्रिँदा लगातार सातौं जितको खोजीमा हुनेछ । लिगकै एक बलियो टोलीसँग खेल्दा एन्टोनिया कोन्टेको टोलीमाथि आज ठूलै दबाब हुने पक्का नै छ ।

यता, आज मिलानको घरेलु मैदानमा उत्रिन लागेको एटलान्टा हाल पाँचौं स्थानमा छ । उसको खातामा २५ खेलपछि ४९ अंक छ । उसले यो सिजन १४ खेल जितेर ७ खेल बराबरी गर्दा ४ खेल हारेको छ । एटलान्टा आज मिलानलाई उसकै घरमा हरााएर उसको ६ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लगाउने दाउमा छ । एटलान्टाले लिगका पछिल्ला ५ खेलमध्ये ४ खेल जितेको छ भने एक खेल बराबरी गरेको छ । उसले पछिल्ला ४ खेला लगातार जित हात पारेको छ । तसर्थ, आज यो समय उत्कृष्ट लयमा रहेका लिगका दुई ठूला टोली एकअर्काविरुद्ध भिड्दा यो खेल निकै रोमाञ्चक हुने पक्का छ । यसअघि भएको सिजनको पहिलो खेल १–१ को बराबरीमा सकिएको थियो ।

आज इन्टर मिलान र एटलान्टा खेल्दा यो खेलमाथि साबिक विजेता युभेन्टसको अर्थपूर्ण नजर रहनेछ । किनभने, यो खेलको नतिजाले उसलाई फरक पर्नेछ । युभेन्टस हाल २५ खेलपछि ५२ अंकका साथ तेस्रो स्थानमा छ । ऊ हाल समान खेलपछि लिग लिडर इन्टरभन्दा ७ अंकले पछि रहेको छ । तसर्थ, यदि आज एटलान्टाले मिलानलाई उसकै घरमा हराइदियो भने इन्टरले युभेन्टससँग थप दूरी बढाउन पाउँदैन । एटलान्टाले जितेर मिलानले ३ अंक गुमाउँदा र युभेन्टसलाई आगामी खेलबाट उसलाई पछ्यान सजिलो हुनेछ । यदि आज मिलान विजयी भए युभेन्टस १० अंकले पछि पर्नेछ । युभेन्टस आज एटलान्टाले मिलानलाई कुनै पनि हालतमा हराइदेओस् भन्ने चाहन्छ । वा, बराबरीमा रोके पनि त्यसको फाइदा युभेन्टसलाई पुग्नेछ । तर, यदि आज एटलान्टा विजयी भयो भने उसले युभेन्टससँग अंक बराबरी गर्नेछ । तर, त्यो बेला इन्टर मिलान र एटलान्टाले युभेन्टसको भन्दा एक खेल बढी खेलिसकेका हुनेछन् । युभेन्टसले नापोलीसँग स्थगित भएको एक खेल खेल्नै बाँकी छ ।

 

प्रकाशित मिति २४ फाल्गुन २०७७, सोमबार ०७:२६
Loading...