सिटीको २१ खेलको कीर्तिमानी विजयी यात्रा युनाइटेडले उसकै घरमा टुंग्याइदियो

काठमाडौं, फागुन २३

पछिल्लो समय रोक्नै नसकिने वेग र गतिमा रहेको इंग्लिस क्लब म्यानचेटर सिटीको २१ खेलसम्मको कीर्तिमानी विजयी यात्रा २२औं खेलमा आइपुगेर टुंगिएको छ । प्रिमियर लिगमा आज आइतबार राति भएको सिजनको दोस्रो म्यानचेस्टर डर्बी भिडन्तमा पाहुना टोली म्यानचेस्टर युनाइटेडले सिटीलाई उसकै घरेलु मैदानमा ०–२ ले धुलाइ गर्दै नमिठो हार चखायो । हो हारसँगै सिटीको सबैखाले प्रतियोगिताबाट पछिल्ला २१ खेलसम्मको लामो लगातारको विजयी यात्रामा पनि पूर्णविराम लागेको छ । साथै, प्रिमियर लिगमा लगातार १५ खेलसम्मको विजयी यात्रा पनि आजै समाप्त भएको छ । त्यसैगरी, पछिल्ला २७ खेलसम्मको लामो अपराजित यात्रा पनि सिटीले आफ्नै मैदानमा युनाइटेडका हातबाट अन्त्य गरेको छ ।

सिटीले घरेलु मैदानमा खेल सुरु भएको ३३ सेकेन्डमै पाहुना टोलीका लागि पेनाल्टी सिर्जना गरेको थियो । युनाइटेडले बनाएको पहिलो मुभमै बल लिएर बक्सभित्र पुगेका एन्थोनी मार्सियालमाथि सिटीका खेलाडीले फउल गरेपछि रेफ्रीले भ्रमणकारी टोलीलाई सोझै पेनाल्टीको मौका दिएका थिए, जसमा ब्रुनो फर्नान्डेजले गोल गरेर दोस्रो मिनेटमै खेल ०–१ बनाए । त्यसपछि युनाइटेडका लागि खेलको ५०औं मिनेटमा युवा खेलाडी लुके शले मार्कुस राफोर्डमो पासमा गोल गरेपछि युनाइटेडल ०–२ को सहज अग्रता बनायो । दोस्रो गोल खाएपछि चर्को दबाबमा परेको सिटी त्यसपछि खेलमा फर्किन सकेन । र, खेल युनाइटेडले ०–२ ले जित्यो । आफ्नो घरमा सिटीले कूल २३ मुभ बनाएर ६ अन टार्गेट सट हाने पनि गोल निकाल्न सकेन । उसले कूल ६७ प्रतिशत बल आफ्नो पकडमा राखेर ७०० सफल पास खेलेको थियो ।

अब यो जितपछि युनाइटेडले २८ खेलबाट ५४ अंक जोडेको छ । ऊ हाल दोस्रो स्थानमा पनि चढेको छ । युनाइटेडले लेस्टर सिटीलाई १ अंकले पछि पारेर दोस्रोमा चढेको हो । यो जितसँगै युनाइटेडले लिग लिडर सिटीसँगको अंक दूरी थोरै भए पनि घटाएको छ । अहिले आज पराजित भइकन पनि सिटीको खातामा २८ खेलपछि ६५ अंक छ, जुन दोस्रो स्थानको युनाइटेडभन्दा ११ अंकले बढी नै हो । एक खेल कम खेलेको चेल्सी भने ४७ अंकहित चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार १८:२५
Loading...