गोल्डेन बुटमा लेवान्डोस्कीले बनाए फराकिलो अग्रता : रोनाल्डो र मेस्सी धेरै पछि

काठमाडौं, फागुन २३

जारी सिजन २०२०–२१ अन्तर्गत युरोपियन गोल्डेन बुटको दौडमा जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले फराकिलो अग्रता बनाएका छन् । उनले अहिले शीर्ष पाँच लिगमा कूल ३१ गोलसहित युरोपको सर्वाधिक गोलकर्तातको दौडमा सहज लिड गरिरहेका छन् । गत राति बुन्डेसलिगामा बार्यनले लिगको अर्को बलियो टोली बोरुसिया डर्टमुन्डमाथि ४–२ को अन्तरमा कमब्याक जित निकाल्दा पोलिस फरवार्डले शानदार ह्याट्रिक गरेका थिए । उनले एक पेनाल्टीसहित ३ गोल गरेका थिए । सोही ह्याट्रिक गोलको मदतमा यो सिजन उनले गरेको कूल लिग गोल संख्या ३१ पुगेको हो । उनले मात्रै २३ खेलबाट ३० गोलको आँकडा पूरा गरेका हुन् । साथै, उनले ६ गोलमा असिस्ट समेत गरेका छन् । यस सिजन शीर्ष लिगमा ३० गोलको आँकडा पूरा गने लेवान्डोस्की एक मात्रै खेलाडी हुन् । यो सिजन उनले हरेक ६३ मिनेटमा १ गोल गरेका छन्, जुन सबैभन्दा राम्रो गोल रेट हो ।

लेवान्डोस्कीपछि दोस्रो स्थानमा इटालियन सिरी ए लिग क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोले यो सिजन लिगमा कूल २० गोल पूरा गरेका छन् । ३६ वर्षका रोनाल्डोले हालसम्म लिगमा २२ खेलबाट २० गाल गर्दै ५ गोलमा असिस्ट समेत गरेका छन् । रोनाल्डोले हरेक ९२ मिनेटमा १ गोल गरेका छन् । यस सिजन २० गोलको आँकडा पूरा गर्नेमा लेवान्डोस्कीपछि रोनाल्डो मात्रै हुन् । त्यसपछि तेस्रो स्थानमा बुन्डेसलिगाकै बोरुसिया डर्टमुन्डका अर्लिङ हल्यान्ड र फ्रान्कफुर्टका आन्ड्रे सिल्भा समान १९–१९ गोल सहित रहेका छन् । त्यसैगरी, स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी पनि १९ गोलसहित तेस्रो स्थानमा रहेका छन् । अहिले समान १९–१९ गोल भएका ३ जना खेलाडी छन् । पछिल्लो समय बार्सिलोनाका मेस्सी उत्कृष्ट लयमा छन् । गत राति बार्यनविरुद्ध २ गोल गरेका डर्टमुन्डका हल्यान्ड पनि मेस्सीसँगै रहेका छन् ।

त्यसपछि फ्रेन्च क्लब पिएसजीका केलियन एमबाप्पे र इन्टर मिलानका रोमेलु लुकाकु समान १८–१८ गोलसहित चौथो स्थानमा छन् । एमबाप्पे लिग वानका एकल सर्वाधिक गोलकर्ता हुन् । यता, प्रिमियर लिगमा भने अहिले सर्वाधिक गोलकर्तामा मोहमद सालाह रहेका छन् । उनले २६ खेलबाट १७ गोल र ३ असिस्ट गरेका छन् । ला लिगामा सर्वाधिक गोलकर्ता बार्सिलोनाका मेस्सीपछि दोस्रो स्थानमा एथ्लेटिको मड्रिडका लुइस स्वारेज रहेका छन् । उनले कूल १६ गोल गरेका छन् । हालको अवस्थामा बार्यनका लेवान्डोस्की दोस्रो स्थानका युभेन्टसका रोनाल्डोभन्दा स्पष्ट ११ गोलले अघि छन् भने बार्सिलोनाका मेस्सीभन्दा १२ गोलले अघि छन् । यही अवस्थामा यसपटक लेवान्डोस्कीले गोल्डेन बुट जित्ने करिब–करिब पक्का देखिन्छ । तर, फरक यो छ कि, बुन्डेसलिगामा लेवान्डोस्कीले अब मात्रै १० खेल खेल्न बाँकी छ भने सिरी ए लिगमा रोनाल्डोले १३ खेल खेल्न बाँकी छ । तैपनि, रोनाल्डो वा बार्सिलोनाका मेस्सीले लेवान्डोस्कीलाई सर्वाधिक गोलमा टक्कर दिन अब बहुत कठिन देखिएको छ ।

प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार ११:००
Loading...