‘बार्सिलोनाले ला लिगा उपाधि नजित्ला तर बाँकी सबै खेल जितेर देखाउँछ’

एजेन्सी, फागुन २३

स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफूहरूले ला लिगा उपाधि जित्न नसके पनि अब सिजनका बाँकी सबै खेल जित्ने दाबी गरेका छन् । गत राति लिगको २६औं साताको खेलमा अवे मैदानमा १३औं स्थानको ओसासुनामाथि ०–२ को जित निकालेपछि मिडियासँग कुरा गर्दै डच म्यानेजरले यस्तो दाबी गरेका हुन् । उनले आफूहरू लिग च्याम्पियन बन्न सक्ने वा नसक्ने भनेर संकेत दिन अझै केही समय पर्खिनुपर्ने बताउँदै सिजनका बाँकी हरेक खेल भने जितेर देखाउने बताएका छन् । गत रातिको जितपछि बार्सिलोनाले २६ खेलबाट ५६ अंक बनाएको छ । उसले लिग लिडर एथ्लेटिको मड्रिडसँगको दूरी २ मा छोट्याएको छ । तर, एथ्लेटिकोले बार्सिलोनाको भन्दा अझै दुई खेल कम खेलेको छ । उसले आज २५औं खेल रियल मड्रिडसँग खेल्दै छ । त्यसपछि पनि ऊसँग एक खेल बाँकी नै हुनेछ । आज हुने मड्रिड डर्बीमा जसले जिते पनि बार्सिलोनाका लागि कठिनाइ नै हुनेछ । एथ्लेटिकोले जिते दूरी बढाउने छ भने रियलले जित अंक बराबरी गर्नेछ ।

ओसासुनासँगकोे जित बार्सिलोनाका लागि पछिल्ला ८ खेलमध्ये सातौं जित हो । तर, कोम्यान भने मिडियासँग कुरा गर्नेक्रममा चिप्लिए । उनले बार्सिलोनाले लगातार आठौं जित निकालेको बताएउन भ्याए । पछि उनले सो कुरालाई सच्याएनन् पनि । उनको सो भनाइ गलत थियो । किनभने, बार्सिलोनाले पछिल्ला ८ खेल लगातार जितेको होइन । दुई साताअघि (फेब्रअुरी २१) मात्रै बार्सिलोना आफ्नै घरमा क्याडिजसँग १–१ को बराबरीमा रोकिएको थियो । तर, बार्सिलोना ला लिगाका पछिल्ला १६ खेलमा भने अपराजित रहेको छ । ऊ लिगमा अन्तिमपटक डिसेम्बर ६ तारिखमा क्याडिजसँग अवे मैदानमा २–१ ले पराजित भएयता पुनः हारेको छैन । जसका कारण कुनै बेला एथ्लेटिकोसँग १३ अंकले पछि रेको उसले अहिले अंक दूरी छोट्याउँदै लगेको छ । ‘हामीले ला लिगामा लगातार ८ खेल जित्न सफल भएका छौं, यो निकै राम्रो कुरा हो । यसले हामी लिगमा सही दिशामा छौं भन्ने देखाउँछ,’ खेलपछि कोम्यानले भनेका थिए ।

उपाधि होडबारे कुरा गर्दै कोम्यानले ला लिगाका बाँकी सबै खेल जित्ने दाबी गरेका छन् । निकै हौसिएका उनले उपाधि जित्न सम्भव भए वा नभए पनि आफूहरूले अब हरेक खेल जित्ने दाबी गरेका हुन् । ला लिगामा अब बार्सिलोनाले जम्मा १२ खेल खेल्न बाँकी छ । जसमा लिगका बलिया टोली एथ्लेटिको मड्रिड र रियल मड्रिडसँगका खेल पनि बाँकी छन् । बार्सिलोनाका लागि यी दुवै खेल कठिन हुनेवाला छन् । बार्सिलोनाले भ्यालेन्सिया, रियल सोसिडाड, भिल्लारियलसँग पनि खेल्नै बाँकी छ । ‘मैले भन्दै आएको छु– हामी अझै पनि उपाधि होडमा एकदमै खुला छौं । अझै १२ खेल बाँकी नै छन् । बार्सिलोनाले उपाधि नजित्ला तर हामी लिगका बाँकी सबै खेल जितेर देखाउनेछौं,’ कोम्यानले भने, ‘हामी आवश्यक परेका बेला लिगमा सही बाटोमा फर्किएका छौं, यो राम्रो कुरा हो ।’

प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार ०५:००
Loading...