डर्टमुन्डमाथि शानदार कमब्याक जित निकाल्दा लेवान्डोस्कीले हाने ह्याट्रिक

काठमाडौं, फागुन २३

जर्मन लिग बुन्डेसलिगा फुटबलमा साबिक च्याम्पियन बार्यन म्युनिखले शानदार कमब्याक जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा बार्यनले लिगकै अर्को बलियो टोली बोरुसिया डर्टमुन्डमाथि ४–२ को रोमाञ्चक कमब्याक जित निकाल्यो । आफ्नो घरेलु मैदानमा बार्यनलाई ०–२ ले पछि परेको स्थिति उल्टाएर ४–२ ले खेल जिताउनेक्रममा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की नायक बने । उनले घरेलु मैदानमा डर्टमुन्डविरुद्ध उत्कृष्ट प्रदर्शनका साथ ह्याट्रिक गोल गरे । खेलको नवौं मिनेटमा पुग्दा डर्टमुन्डका युवा स्टार अर्लिङ हल्यान्डले २ गोल गरे पनि अग्रता बचाउन नसकेर टिम पराजित हुँदा उनको २ गोल छायाँमा पर्न गयो । नवौं मिनेटमै ०–२ ले पछि परेको बार्यनले खेलको ९०औं मिनेटसम्म पुग्दा ४ गोल गरेर रोमाञ्चक जित सम्भव बनायो ।

डर्टमुन्डका हल्यान्डले खेल सुरु भएको दोस्रो मिनेटमा बक्स बाहिरबाट कडा लो सटमा गोल गर्दै बार्यनलाई झट्का दिएका थिए । त्यसपछि नवौं मिनेटमै उनले व्यक्तिगत दोस्रो गोल गरेर बार्यनलाई ०–२ ले पछि छाडे । यसपटक छोटो क्रस पासमा हल्यान्डले सजिलै गोल गरेका थिए । तर, त्यसपछि डर्टमुन्डले गोल पोस्ट बचाउन सकेन । खेलको २६औं मिनेटमा लेवान्डोस्कीले क्रस पासमा गोल गर्दा ४४औं मिनेटमै उनैले पेनाल्टीमार्फत् गोल गरेर खेललाई पहिलो हाफमा २–२ को बराबरी बनाए । त्यसपछि ८८औं मिनेटमा लियोन गोरेट्जाले गोल गरेपछि बार्यन जिततर्फ अघि बढेको थियो । त्यसपछि ९०औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गोल गर्दै टिमको ४–२ को जित पक्का गरे । यससँगै बार्यनले यो सिजन दुवै लिग खेलमा डर्टमुन्डलाई पराजित गरेको छ ।

यो जितपछि बार्यनले २४ खेलपछि ५५ अंक बनाएको छ । जसमा उसले १७ खेल जितेको छ भने ४ खेल बराबरी गर्दा ३ खेल हारेको छ । अब बार्यनले समान खेलपछि दोस्रो स्थानको आरबी लेइपजिगभन्दा २ अंकको अग्रता पनि बनाएको छ । यता, पराजित डर्टमुन्ड भने २४ खेलपछि मात्रै ३९ अंकका साथ छैटौं स्थानमा रहेको छ । हालको अवस्थामा उसको प्रयास अब टप–४ मा फर्किनु हुनेछ । डर्टमुन्डले पछिल्ला ५ खेलमध्ये मात्रै २ खेल जितेर २ खेल हारेको छ भने एक खेल बराबरी गरेको छ । बार्यनसँग हार्नुअघि डर्टमुन्डले लगातार दुई खेल जितेको थियो ।

प्रकाशित मिति २२ फाल्गुन २०७७, शनिबार १९:३६
Loading...