युभेन्टसलाई तनाव : लाजियोविरुद्ध रोनाल्डो खेल्ने सम्भावना न्यून !

एजेन्सी, फागुन २२

इटालियन सिरी ए लिग फुटबलमा आज राति एक ठूलो खेल हुँदैछ, जहाँ युभेन्टस र लाजियो सिजनको दोस्रो खेलमा आमनेसामने हुँदैछन् । यो खेल युभेन्टसको घरेलु मैदान एलिनाज रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ । लिगको एक बलियो टोलीविरुद्ध उत्रिँदा युभेन्टसका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोले खेल्ने सम्भावना न्यून देखिएको छ । इटालियन मिडियाका ताजा रिपोर्टअनुसार रोनाल्डोको स्वास्थ्यमा समस्या देखिएको छ । र, उनी पूर्ण रूपमा फिट छैनन् । ट्रेनिङ गर्ने क्रममा रोनाल्डोको पिडौलाको मांशपेसीमा समस्या देखिएको छ । जसका कारण उनले घरेलु मैदान लाजियोविरुद्ध खेल्ने सम्भावना नदेखिएको हो ।

रोनाल्डोको फिटनेसमा समस्या भएकै कारण प्रशिक्षक पिर्लोले लाजियोविरुद्धको खेलका लागि आफ्नो प्रारम्भिक टोली पनि करिब १५ घन्टापछि मात्रै सार्वजनिक गरेका छन् । सार्वजनिक टोलीमा रोनाल्डोलाई पनि समेटिएको छ । तर, उनलाई लाजियोविरुद्ध सुरुआतमै खेलाइनेछैन । रोनाल्डोलाई बेन्चमा राखेर दोस्रो हाफमा मात्रै मैदान छिराइनेछ । रोनाल्डोले लाजियोविरुद्ध खेल्न चाहन्छन् । तर, प्रशिक्षक पिर्लोले उनलाई जोखिम नमोली बेन्चमा राखेर दोस्रो हाफमा मैदान उतार्ने तयारी गरेको ताजा रिपोर्टमा उल्लेख छ । यदि रोनाल्डोले सुरुआतमा नखेले युभेन्टसको फ्रन्ट लाइनको मुख्य जिम्मा अल्भारो मोराटामाथि हुनेछ । उनलाई फेडरिको किइजा र वेस्ट म्याकेनीले साथ दिनेछन् ।

रोनाल्डो जारी सिजन उच्च लयमा छन् । उनले घरेलु लिगमा मात्रै २० गोलको आँकडा पूरा गरिसकेका छन् भने सबैखाले प्रतियोगिताबाट ३२ खेल खेल्दै २७ गोल र ७ गोलमा असिस्ट गरेका छन् । यता, युभेन्टसका अर्का प्रमुख फरवार्ड पाउलो डिबाला पनि घाइते छन् । उनी मैदान फर्किने अझै टुंगो छैन । आजको खेलपछि युभेन्टसले च्याम्पियन्स लिगमा पोर्चुगिल क्लब पोर्टोविरुद्ध अन्तिम १६ मा दोस्रो लेगको खेल खेल्नेछ । सो खेलमा युभेन्टस ठूलो दबाबमा हुनेछ । यसअघि पोर्चुगलमा भएको पहिलो लेगमा ऊ २–१ ले हारेको छ । महत्त्वपूर्ण खेलअघि रोनाल्डोको फिटनेसमा समस्या देखिँदा प्रशिक्षक पिर्लोलाई तनाव बढ्ने देखिएको छ ।

प्रकाशित मिति २२ फाल्गुन २०७७, शनिबार १५:५१
Loading...