‘मैले जितेको एक उपाधि तिमीले जीवनभरमा पनि जित्न सक्दैनौं’

एजेन्सी, फागुन २१

हाल स्पेनिस क्लब सेभिल्लाबाट खेलिरहेका क्रोएसियन मिडफिल्डर इभान राकिटिचले पूर्वसहकर्मी बार्सिलोनाका लिओनल मेस्सीसँग गरेको एक रमाइलो कुराकानीको खुलासा गरेका छन् । दुई दिनअघि ला लिगामा बार्सिलोना र सेभिल्ला कोपा डेल रे फुटबलको सेमिफाइनलको दोस्रो लेगमा खेल्नुभन्दा एक दिनअघि राकिटिचले मेस्सीसँगको एक पुरानो गफ मिडियासँग सेयर गरेका थिए । बार्सिलोनाको घरेलु मैदानमा भएका दोस्रो लेगमा बार्सिलोना ३–० को कमब्याक जित निकाल्दै फाइनल पुगेको थियो । त्यसअघि सेभिल्लाको घरमा भएको पहिलो लेगको खेलमा सेभिल्लाले बार्सिलोनालाई २–० ले हराउँदा राकिटिचले पनि पूर्वक्लब बार्सिलोनाविरुद्ध २ गोल गरेका थिए । राकिटिच गत समर सिजनमा बार्सिलोना छाडेर सेभिल्ला गएका थिए । सेभिल्लाबाट उनले पहिला पनि खेलिसकेका थिए । सन् २०१४ मा उनी सेभिल्लाबाटै बार्सिलोना पुगेका थिए ।

कोपाको दोस्रो लेगमा बार्सिलोनाविरुद्ध खेल्नुअघि मिडियासँगको कुराकानीक्रममा राकिटिचले कुनै दिन आफूले मेस्सीलाई आफूले जितेको एक उपाधि उनले कहिल्यै जित्न सक्नेछैनन् भनेर भनेको कुरा सम्झिाए । त्यो एक मजाक थियो । राकिटिचले मजाककै रूपमा सो कुरा उल्लेख गरेका थिए । र, त्यो उपाधि युरोपा लिग हो । मेस्सीले युरोपा लिग जितून् पनि कसरी ? मेस्सी बार्सिलोनाका खेलाडी भइकन कुनै पनि सिजन बार्सिलोनाले युरोपा लिग खेल्नु परेको पनि छैन । पूर्वक्लब बार्सिलोनाविरुद्धको खेलमा उत्रिनुअघि राकिटिचले भनेका थिए– ‘बार्सिलोनामा छँदा एकदिन म मेस्सीसँग कुरा गरिरहेको थिएँ । त्यसक्रममा मैले उनीसँग टठ्टा गर्दै भनेको थिएँ– तिमीले जीवनमा धेरै उपाधि जितिसकेका छौ । सयौं गोल गरेका छौ । तर, मैले एउटा यस्तो उपाधि जितेको छु, जुन तिमीले आफ्नो जीवनभरमा पनि जित्न सक्नेछैनौं । तिमी कहिल्यै पनि युरोपा लिग जित्न सक्नेछैनौं । यो एक रमाइलो संवाद थियो । मेरो कुराले मेस्सी हाँसेका थिए ।’

सन् २०१४ देखि २०२० वर्षसम्म ६ वर्ष बार्सिलोनामा खेलेका राकिटिचले मेस्सीसँग मिलेर थुप्रै उपाधि जितेका छन् । सो अवधिमा बार्सिलोनामा मेस्सीले जे–जे जिते, राकिटिचले पनि ती सबै उपाधि जितेका छन् । राकिटिच बार्सिलोना पुगेको सिजन नै बार्सिलोनाले च्याम्पियन्स लिग सहित ट्रिबेल उपाधि जितेको थिया । त्यसदेखि यता फेरि बार्सिलोनाले सो उपाधि जित्न सकेको छैन । बार्सिलोनामा छँदा राकिटिचले कूल १३ उपाधि जिते भने ३१० खेलबाट ३६ गोल गरे । २०१४ मा राकिटिच सेभिल्लाबाट बार्सिलोना जानुअघि २०१३–१४ सिजनमा उनले सेभिल्लाबाट युरोपा लिग जितेका थिए । यसबाहेक, टिमका रूपमा मेस्सी अर्जेन्टिनाबाट र राकिटिच क्रोएसियाबाट फिफा विश्वकपको रनर अप बनिसकेका छन् । यता, व्यक्तिगत अवार्डको मामिलामा त मेस्सीसँग राकिटिचको कुरै जोडिँदैन ।

प्रकाशित मिति २१ फाल्गुन २०७७, शुक्रबार ११:१७
Loading...