बार्सिलोनालाई चोटले तनाव : पिएसजीविरुद्ध हुनेछैनन् यी चार प्रमुख खेलाडी

एजेन्सी, फागुन २१

युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत दोस्रो लेगको निर्णायक खेलको मुखमा बार्सिलोनालाई खेलाडीको चोटले पिरोलेको छ । फ्रेन्च क्लब पिएसजीसँग उसकै मैदानमा दोस्रो लेग खेल्न केही दिन मात्रै बाँकी छँदा टोलीका थप ३ जना प्रमुख खेलाडी घाइते भएका छन् । केही खेलाडी अघिबाटै घाइते अवस्थामा छन् । मिडफिल्डर फिलिपे कोउटिन्हो लामो समयदेखि चोटका कारण टोलीबाहिर छन् भने अर्को भरपर्दा खेलाडी सर्जी रोवेर्टो पनि अघिबाटै घाइते छन् । दुई दिनअघि कोपा डेल रे कप फुटबलमा सेमिफाइनलको दोस्रो लेगमा सेभिल्लाविरुद्ध खेल्नेक्रममा थप २ जना खेलाडी पनि घाइते छन् । चोट बोक्ने नयाँ खेलाडीमा फ्रेन्च विंगर उसामान डेम्बेले र डिफेन्डर जेरार्ड पिके रहेका छन् । यी खेलाडीको चोटले बार्सिलोनालाई समस्या बढ्ने पक्का छ ।

क्लब बार्सिलोनाले अफिसियल रूपमा पुष्टि गर्दै स्पेनिस डिफेन्डर पिके घाइते भएको बताएका छन् । उनलाई रिकभर हुन कम्तीमा ३ देखि ५ हप्तासम्म लाग्ने क्लबले जनाएको छ । २ दिनअघि सेभिल्लाविरुद्ध टिम हार नजिक पुगेका बेला पिकेले नै ९४औं मिनेटमा हेडिङमार्फत् बराबरी गोल गरेका थिए । सोही खेल दौरान डेम्बेलेले पनि चोट बोकेका हुन् । तर, डेम्बेलेको चोटबारे भने क्लबले अफिसियल जानकारी दिइसकेको छैन । तर, स्पेनिस मिडियाका अनुसार डेम्बेले पनि पिएसजीविरुद्धको खेल गुमाउने सम्भावना प्रबल छ । त्यसैगरी, अर्का भरपर्दा युवा डिफेन्डर रोनाल्ड अराउजो चोटमुक्त हुनेक्रममा रहे पनि पूर्ण रूपमा फिट भइसकेका छैन् । उनले पिएसजीविरुद्ध खेल्नेमा अझै पनि शंकै छ । तर, मिडफिल्डर मिरालेम पियानिच भने चोटमुक्त हुँदै हिजोबाटै प्रशिक्षणमा फर्किएका छन् । उनको पुनरागमनले बार्सिलोनाको अट्याकिङ मिडफिल्डलाई सहयोग पुग्नेछ ।

यसरी हेर्दा हालको अवस्थामा पिएसजीविरुद्ध उसकै घरमा पहिलो लेगको खेल खेल्दा बार्सिलोनासँग पिके, डेम्बेलेका साथै कोउटिन्हो र रोवेर्टो नहुने पक्का भएको छ । यी ४ जनाबाहेक रोनाल्ड अराउजो पनि पिएसजीविरुद्ध उपलब्ध हुने सभावना न्यून छ । बार्सिलोना अबको खेल ला लिगामा ओसासुनाविरुद्ध शनिबार राति खेल्नेछ । सो खेलपछि च्याम्पियन्स लिगमा पिएसजीविरुद्ध खेल्नेछ । पहिलो लेगमा आफ्नै घरमा १–४ ले हारेकाले बार्सिलोनालाई पिएसजीको घरमा कमब्याक गर्न १ गोल पनि नखाई कम्तीमा ०–४ को जित आवश्यक पर्छ । यदि पिएसजीले १ गोल मात्रै गरे बार्सिलोनालाई पिएसजीको घरमा कूल ५ गोल चाहिन्छ, जुन बहुत कठिन देखिन्छ । आफ्नो घरमा पिएसजी ०–३ को अन्तरमा हार्दासम्म उसलाई केही फरक पर्दैन । त्यो बेला खेल एग्रीगेटमा ४–४ को बराबरी हुने भए पनि बढी अवे गोलका आधारमा पिएसजी अघि रहे अन्तिम आठमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति २१ फाल्गुन २०७७, शुक्रबार ०७:२०
Loading...