सान्चेज चम्किँदा इन्टर मिलानको जित : शीर्ष स्थानमा अग्रता बढायो

काठमाडौं, फागुन २१

इटालियन सिरी ए लिग फुटबलमा लिग लिडर इन्टर मिलानले अर्को जित हात पारेको छ । गत राति भएको लिगको २५औं साताको खेलमा इन्टरले रेलिगेसन जोनको पार्मालाई उसकै घरेलु मैदानमा १–२ अन्तरले स्तब्ध बनायो । इन्टरको जितमा चिलियन खेलाडी एलेक्सिस सान्चेज नायक बने । उनले उत्कृष्ट प्रदर्शनका साथ २ गोल गरे । मिलानका लागि यो सिजन उपाधि होडमा अग्रता कायमै राख्न निकै महत्त्वपूर्ण बनेको छ । उसले शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । लौटारो मार्टिनेजलाई बेन्चमा छाडेर फ्रन्ट लाइनमा सान्चेज र रोमेलु लुकाकुका साथ अवे मैदानमा उत्रिँदा मिलानले २ वटै गोल दोस्रो हाफमा गरेको थियो । खेलमा दुवै तर्फबाट भएका ३ वटै गोल दोस्रो हाफमा भएका थिए । पहिलो हाफ भने गोरहित ०–० अवस्थामा सकिएको थियो ।

दोस्रो हाफको ५४औं मिनेटमा मिलानका लागि सान्चेजले लुकाकुको पासमा गोल गरेर टिमलाई अग्रता दिलाका थिए । सो गोलपछि खेलको ६२औं मिनेटमा सान्चेजले नै व्यक्तिगत दोस्रो गोल गरे । यसपटक पनि उनको गोलमा लुकाकुले नै असिस्ट प्रदान गरेका थिए । त्यसपछि ७१औं मिनेटमा पार्माका लागि हेर्नानी जुनियरले गोल गरेपछि मिलानको जित १–२ मा खुम्चियो । अब यो जितपछि मिलानले २५ खेलपछि ५९ अंक बनाएर शीर्ष स्थानमा रहेको छ । समान खेलपछि ५३ अंक भएको एसी मिलान दोस्रोमा छ । एक खेल कम खेलेको युभेन्टस ४९ अंकका साथ तेस्रो स्थानमा छ । पराजित पार्मा २५ खेलपछि १५ अंकका साथ २०औं स्थानमा छ ।

प्रकाशित मिति २१ फाल्गुन २०७७, शुक्रबार ०२:११
Loading...