सेभिल्लासँगको खेलअघि खेलाडीलाई बार्सिलोनाका प्रशिक्षकको कडा निर्देशन

एजेन्सी, फागुन १८

स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपमा भोलि सेमिफाइनल अन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा बार्सिलोना र सेभिल्लाको खेल हुँदैछ । फाइनल जानका लागि यो निर्णायक भिडन्त हुनेछ । दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । यसअघि सेभिल्लाको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा बार्सिलोना २–० ले पराजित भएको थियो । दोस्रो लेग होम ग्राउन्डमा खेल्दा बार्सिलोनालाई कम्तीमा ३–० को जित आवश्यक पर्नेछ । तर, सेभिल्ला भने बार्सिलोनाको घरमा १–० ले हारे पनि केही फरक पर्दैन । तसर्थ भोलि यो खेल हुँदा दुवै टोली चर्को दबाबमा हुनेछन् । कोपामा सेभिल्लासँग २–० ले हारेपछि बार्सिलोनाले २ दिनअघि मात्रै ला लिगामा सेभिल्लालाई उसकै घरमा ०–२ ले हराएको थियो । सो खेलपछि दुवै टोली कोपाको फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्न लागेका हुन् ।

सो खेलअघि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले सेभिल्लासँगको खेललाई लिएर खेलाडीलाई उच्च मनोबलमा रहन र योजना फलो गर्न निर्देशन दिएका छन् । खेलअघि आयोजित पत्रकार सम्मेलनमा भाग लिँदै उनले सेभिल्लाविरुद्धको खेल फाइनलसरह भएको भन्दै कुनै पनि मूल्यमा नतिजा उल्टाउनुपर्ने बताएका छन् । बार्सिलोनाका लागि कोपाको उपाधि धेरै महत्त्वपूर्ण नरहे पनि सेभिल्लाविरुद्धको जित भने अतिआवश्यक रहेको कोम्यानको भनाइ छ । ‘कपको फाइनल जान सेभिल्लासँग पहिलो लेगको २–० को जितको सुविधा छ, यो धेरै सजिलो हो । उनीहरू अहिलेको हकमा फाइनल जान पहिलो दाबेदार छन् । तर, हामीले पहिलो लेगको नतिजा उल्टाउनुपर्ने छ । हामी कुनै पनि हालतमा क्याम्प नोउमा यो नतिजा उल्टाउन चाहन्छौं । मैले मेरा खेलाडीलाई उनीहरूविरुद्ध उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न र योजना–रणनीति पछ्याएर खेल्न निर्देशन दिइसकेको छु ।’

कोम्यानले २ दिनअघि ला लिगामा सेभिल्लामाथिको जितले कोपामा कमब्याक गर्न सहयोग पुग्ने र सो जितले आफ्ना खेलाडीको मनोबल उच्च रहेको बताए । ‘यो खेल हाम्रा लागि निकै कठिन हुनेवाला छ । उनीहरू निकै बलिया टोली हुन् । तर, दुई दिनअघि मात्रै हामीले लिग खेलमा उनीहरूलाई २–० ले पराजित गरेका छौं । यो जितले कोपाको दोस्रो लेगका लागि ऊर्जा थपेको छ । र, खेलाडी उच्च मनोबलमा छन्,’ कोम्यानले भने, ‘हामी यो खेल जित्नेमा म ढुक्क छु । त्यसका लागि हामीले योजना र रणनीतिलाई ध्यानपूर्वक फलो गर्नुपर्छ । यदि सबै खेलाडीले यो कुरामा ध्यान दिए हामीले सुखद् नतिजा निकाल्नेछौं । यो एक रोमाञ्चक खेल हुनेछ । सेभिल्लाले क्याम्प नोउमा कसरी खेल्छ, त्यो मलाई थाहा छ । हामी उनीहरूलाई हराउन सक्षम छौं ।’

प्रकाशित मिति १८ फाल्गुन २०७७, मंगलवार १४:००
Loading...