पूर्व मिस नेपाल शृंखला खतिवडा स्नातकोत्तर पढ्न हार्वर्ड विश्वविद्यालय जान छनौट

काठमाडौं, फागुन १८

पूर्व मिस नेपाल शृंखला खतिवडा ‘अर्वन प्लानिङ’ अर्थात् सहरी योजना विषयमा स्नातकोत्तर पढ्नका लागि अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयमा छनौट भएकी छिन् । हार्वर्डको ग्राजुएट स्कुल अफ् डिजाइनमा आफू छनौट भएपछिको खुसी शृंखलाले सामाजिक सन्जालमार्फत् जानकारी दिएकी छिन् । शृंखलाले सो कुराको खुसी आफूले व्यक्त नै गर्न नसकेको इन्स्टाग्राममा लेखेकी छिन् । अब उनी आगामी अगस्ट महिनामा अध्यनका लागि अमेरिका जाने बताएकी छन् । आर्टिटेक्चरमा स्नातक गरेकी शृंखलाले सहरी विकास विषयमा स्नातकोत्तर गर्न लागेकी हुन् । विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्न पाउनु जीवनको सबैभन्दा ठूलो सफलता रहेको कुरा उनले बताएकी छन् ।

शृंखलाले पढ्न लागेको कोर्स दुई वर्षको हुने उनले बताएकी छन् । त्यसपछि उनी नेपाल नै फर्किने पनि उनको भनाइ छ । शृंखलाले केही समयअघि मात्रै नेपालमै ‘गाथा’ नामक कम्पनी सञ्चालनमा ल्याएकी छन् । पूर्वमिस नेपाल समेत रहेकी शृंखला अहिले पनि विभिन्न प्रोजेक्टहरूमा काम गरिरहेकी छन् । मिस नेपाल भएर मिस वर्ल्डका लागि प्रतिस्पर्धामा गएपछि शृंखलाको चर्चा बढेको थियो भने उनका फ्यान फलोइङ पनि बढेको थियो । उनलाई निकै प्रतिभाशाली र सुन्दरी मिस नेपालका रूपमा धेरैले रुचाउने गरेको र उनलाई सामाजिक सन्जालमा पछ्याउनेको संख्या पनि ठूलो छ ।

प्रकाशित मिति १८ फाल्गुन २०७७, मंगलवार १३:५८
Loading...