जेनोआमाथि इन्टर मिलानको शानदार जित : युभेन्टस १० अंकले पछि !

काठमाडौं, फागुन १६

इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा यो सिजन उत्कृष्ट लयमा रहेको इन्टर मिलानले लिगको २४औं साताको खेलमा फराकिलो जित निकालेको छ । आज आइतबार राति भएको खेलमा मिलानले आफ्नो घरेलु मैदानमा १३औं स्थानको टोली जेनोआमाथि ३–० को प्रभावशाली जित निकालेको हो । आफ्नो घरेलु मैदानमा मिलानले पाहुना टोलीमाथि फराकिलो जित निकाल्दै शीर्ष स्थानमा निकै सुविधाजनक अग्रता पनि बनाएको छ । घरेलु मैदानमा मिलानका लागि ३ जना फरक–फरक खलाडीले गोल गरे । पहिलो गोल खेल सुरु भएको पहिलो मिनेटमै रोमेलु लुकाकुले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । बेल्जियन स्टार लुकाकुका लागि यो सिजनको १८औं लिग गोल हो ।

मिलानका लागि दोस्रो गोल खेलको ६९औं मिनेटमा माटेओ डर्मिएनले गोल गरेर अग्रता दोब्बर बनाए । त्यसपछि सब्सिच्यु खेलाडी एलेक्सिस सान्चेजले मैदान छिरेको २ मिनेटमै हेडिङमार्फत् गोल गरेपछि खेल मिलानले ३–० ले जित्यो । सो गोललाई भिएआरले मान्यता दिएको थियो । अब यो जितपछि मिलानले २४ खेलबाट कूल ५६ अंक बनाएको छ । उसले एक खेल कम खेलेको दोस्रो स्थानको एसी मिलानलाई ७ अंकले पछि पारेको छ । मिलालने आजै राति आफ्नो खेल खेल्दै छ । यता, यो जितसँगै इन्टरले साबिक च्याम्पियन युभेन्टसलाई भने ठीक १० अंकले पछि छाडेको छ । तर, युभेन्टसले इन्टर मिलानको भन्दा एक खेल कम खेलेको छ । यदि युभेन्टसले बाँकी एक खेल जिते सो अंक दूरी १० बाट ७ मा भर्नेछ ।

प्रकाशित मिति १६ फाल्गुन २०७७, आईतवार १५:१९
Loading...