सर्वाधिक गोलमा दूरी बढाउँदै मेस्सी : यस्तो छ ताजा अवस्था

एजेन्सी, फागुन १६

स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान तथा प्रमुख फरवार्ड लिओनल मेस्सीले आठौं पिचिची अवार्ड जित्नका लागि स्पष्ट दिशा समातेका छन् । ला लिगाको सर्वाधिक गोलकर्ताको दौडमा अहिले मेस्सीले सहज अग्रता बनाएका छन् । गत राति ला लिगामा बार्सिलोनाले सेभिल्लालाई उसकै घरेलु मैदानमा ०–२ ले हराउँदा मेस्सीले १ गोल गरेका थिए । सो गोलपछि मेस्सीले यो सिजन ला लिगामा गरेको कूल गोल संख्या कूल १९ पुगेको छ । यो सिजनको सुरुआतमा गोलको चर्को खडेरीबाट गुज्रिएका मेस्सी पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका छन् । अहिले उनले टिमलाई सम्हालेर अघि बढाइरहेका मात्रै छैनन्, गोल र असिस्ट पनि लगातार गर्दै आएका छन् ।

ताजा अवस्थामा ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा मेस्सी १९ गोलसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा एथ्लेटिको मड्रिडका उरुग्वेन फरवार्ड लुइस स्वारेज रहेका छन् । बार्सिलोनाका पूर्वखेलाडी उनले हालसम्म १६ गोल गरेका छन् । उनी मेस्सीपछि दोस्रो स्थानमा छन् । मेस्सीले २३ खेलबाट कूल १९ गोल गर्दा स्वारेजले २० खेलबाट १६ गोल गरेका छन् । हालको अवस्थामा स्वारेज मेस्सीभन्दा ३ गोलले पछि परेका छन् । तर, आजै राति स्वारेजको टिमले भिल्लारियलविरुद्ध खेल्दै छ । स्वारेजले सो खेलमा गोल गरे मेस्सीसँगको गोल दूरी घट्नेछ । केही समय अघिसम्म स्वारेज मेस्सीभन्दा अघि थिए । तर, पछिल्ला खेलबाट मेस्सीले लगातार गोल गरेपछि स्वारेजलाई ओभरटेक गरेर पिचिची अवार्डमा लिड लिएका हुन् ।

गत राति सेभिल्लाविरुद्ध गरेको गोलसँगै मेस्सीले पछिल्ला ८ खेलमा लगातार गोल गर्न सफल भएका छन् । यी ८ खेलबाट मेस्सीले १२ गोल गरेका छन् । हालकै लय कायम राखे मेस्सीले यो सिजन सर्वाधिक गोलमा बाजी मार्ने पक्का छ । उनी यसअघि सात सिजन लिगको सर्वाधिक गोलकर्ता बनिसकेका छन् । यता, मेस्सी र स्वारेजपछि तेस्रो स्थानमा भिल्लारियलका जेरार्ड मोरेनो रहेका छन् । उनले १९ खेलबाट कूल १४ गोल गरेका छन् । उनीपछि चौथो स्थानमा सेभिल्लाका युसेफ इन नेश्री रहेका छन् । उनले हालसम्म २४ खेलबाट कूल १३ गोल गरेका छन् । त्यसपछि पाँचौं स्थानमा रियल मड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमा छन् । उनले २१ खेलबाट कूल १२ गोल गरेका छन् । रियल मड्रिडले आफ्नो खेल भने भोलि मात्रै खेल्नेछ ।

प्रकाशित मिति १५ फाल्गुन २०७७, शनिबार १५:०३
Loading...