लेवान्डोस्की र गेनाब्री चम्किँदा बार्यनको फराकिलो जित

काठमाडौं, फागुन १५

जर्मन लिग बुन्डेसलिगा फुटबलमा लिग लिडर बार्यन म्युनिखले फराकिलो जित निकालेको छ । आज शनिबार राति भएको लिगको २३औं साताको खेलमा बार्यनले १४औं स्थानको एफसी कोल्नलाई ५–१ को फराकिलो अन्तरमा पराजित गरेको हो । आफ्नो घरेलु मैदानमा भएको खेलमा लिग लिडर बार्यनलाई शानदार जित दिलाउन ३ जना खेलाडीले गोल गरे । जसमा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की र सेर्गे गेनाब्रीले समान २–२ गोल गरे । बार्यनले गरेका ५ मध्ये २ गोल पहिलो हाफ र ३ गोल भने दोस्रो हाफमा गरेको थियो । आजको खेलमा लियोन गोरेट्जाले भने ह्याट्रिक असिस्ट गरेर टिमलाई महत्त्वपूर्ण योगदान दिए । उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै टिमका लागि गोलका अवसर सिर्जना गरेका थिए ।

बार्यनका लागि पहिलो गोल खेलको १८औं मिनेटमा इरिक म्याक्सिमले गरेका थिए । त्यसपछि दोस्रो गोल ३३औं मिनेटमा लेवान्डोस्कीले गरेर टिमलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । त्यसपछि ४९औं मिनेटमा कोल्नका लागि इलिएसले गोल गरेर खेल २–१ बनाए । तर, त्यसपछि खेलमा बार्यन लगातार हाबी भयो । खेलको ६५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा ८२औं मिनेटमा गेनाब्रीले गोल गरेर अग्रता बढाए । त्यसपछि ८६औं मिनेटमै उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि खे बार्यनले ५–१ ले जित्यो । अब यो जितपछि बार्यनले लिगमा २३ खेलबाट कूल ५२ अंक जोडेको छ । पराजित कोल्नको खातामा २१ अंक मात्रै रहेको छ ।

प्रकाशित मिति १५ फाल्गुन २०७७, शनिबार १५:०३
Loading...