मेस्सी चम्किँदा बार्सिलोनाले सेभिल्लासँग लियो बदला : उक्लियो दोस्रो स्थानमा

काठमाडौं, फागुन १५

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले बलियो टोली सेभिल्लामाथि ०–२ को रोमाञ्चक जित निकालेको छ । आज शनिबार राति भएको २५औं साताको खेलमा तेस्रो स्थानको बार्सिलोनाले चौथो स्थानको सेभिल्लालाई उसकै घरेलु मैदानमा ०–२ अन्तरले हरायो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका लागि पहिलो गोल फ्रेन्च विंगर उसामान डेम्बेलेले गरे भने दोस्रो गोल कप्तान लिओनल मेस्सीले गरे । गत साता कोपा डेल रे फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा यसै मैदानमा २–० ले हारेको बार्सिलोनाले आज लिग खेलमा सोही मैदानमा सेभिल्लालाई ०–२ ले स्तब्ध बनायो । उपाधि होडमा फर्किनका बार्सिलोनाका लागि यो जित निकै महत्त्वपूर्ण बनेको छ । यस खेलमा बार्सिलोनाका कप्तान लिओनल मेस्सीको प्रदर्शन उच्च रह्यो । उनले १ गोलमा असिस्ट र १ गोल आफैंले गरेर टिमलाई जितका लागि प्रेरणा दिए भने उनी नै म्यान अफ् द म्याच समेत घोषित भए ।

सेभिल्लाको घरेलु मैदान रामोन सान्चेज रंगशालामा पहिलो हाफमा पाहुना टोली बार्सिलोनाले ०–१ को अग्रता लिएको थियो । बार्सिलोनाका लागि खेलको २९औं मिनेटमा फ्रेन्च विंगर उसामान डेम्बेलेले उत्कृष्ट फिनिसिङमा गोल गरेर घरेलु टोलीलाई झट्का दिएका थिए । मैदानको करिब मध्य भागबाट कप्तान लिओनल दिएको सुन्दर पासमा डेम्बेलेले बल केही अघि बढाएर हानेको लो सटले जाली चुमेको थियो । सेभिल्लाका गोलकिपरले डेम्बेलेको प्रहार रोक्न प्रयास गरे पनि उनी बलको दिशामा नहुँदा असफल भए । पहिलो हाफमा सेभिल्लाले भने बार्सिलोनाको पोस्टमा एकटपटक पनि प्रहार गर्न सकेन ।

त्यसपछि दोस्रो हाफमा सुरुआतबाटै खेलमा फर्किन सबैखाले अस्त्र प्रयोग गरेको सेभिल्लाका हरेक प्रयास असफल भए । सेभिल्लाको खेलमा फर्किने सम्भावना त्यत्तिबेला पूर्ण रूपमा समाप्त भयो, जब खेलको ८५औं मिनेटमा उसले दोस्रो गोल खायो । यसपटक कप्तान मेस्सीले बक्स भित्रबाट बललाई जाली चुमाएपछि बार्सिलोनाको ०–२ को जित पक्का भयो । आजको खेलमा मेस्सीले गरेको गोल यो सिजनको १९औं गोल हो । उनी ताजा स्थितिमा पनि ला लिगाको सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनीपछि दोस्रो स्थानमा एथ्लेटिको मड्रिडका पूर्वसहकर्मी लुइस स्वारेज रहेका छन् । मेस्सी अहिले एकल रूपमा पिचिची अवार्डका लागि लिड गरिरहेका छन् ।

अब यो जितपछि बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा पनि चढेको छ । रियल बार्सिलोनाभन्दा १ अंकले पछि परेर तेस्रो स्थानमा चिप्लिएको छ । तर, रियलले एक खेल खेल्नै बाँकी छ । सेभिल्लालाई हराएसँगै बार्सिलोनाले लिग लिडर एथ्लेटिको मड्रिडसँगको अंक दूरी पनि २ मा छोट्याएको छ । तर, एथ्लेटिकोले अझै २ खेल कम खेलेको छ । यदि उसले बाँकी दुवै खेल जिते बार्सिलोना ८ अंकले नै पछि रहनेछ । यता, आज बार्सिलोनासँग आफ्नै घरमा पराजित सेभिल्ला भने २४ खेलपछि ४८ अंकका साथ चौथो स्थानमा यथावत छ । अब बार्सिलोना र सेभिल्लाले केही दिनमै कोपा डेल रे कप अन्तर्गत दोस्रो लेगको खेल निर्णायक खेल बार्सिलोनाकोा घरेलु मैदानमा खेल्नेछन् ।

प्रकाशित मिति १५ फाल्गुन २०७७, शनिबार १२:१४
Loading...