सिरी ए लिग इतिहासमा रोनाल्डोको दुर्लभ रेकर्ड

काठमाडौं, फागुन १२
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले सिरी ए लिगमा नयाँ रेकर्ड बनाएका छन् । उमेरले ३६ वर्ष पुगेका पोर्चुगलका फरवार्ड अब इटालीको शीर्ष लिगमा सबैभन्दा चाँडो ७० गोल पूरा गर्ने खेलाडी बनेका छन् । सिरी ए लिगको १२३ वर्ष पुरानो इतिहासमा रोनाल्डोका नाममा यस्तो दुर्लभ रेकर्ड बनेको हो ।

अघिल्लो दिन २०औं स्थानको क्रोटोनेविरुद्धको खेलमा युभेन्टसले ३–० को जित निकाल्दा रोनाल्डोले २ हेडिङ गोल गरेका थिए । सोही २ गोलको मदतमा रोनाल्डो सिरी ए लिगमा ७० गोल पूरा गरेका छन् । रोनाल्डोले ७० गोलको आँकडा पूरा गर्न कूल ८३ खल खेले ।

सिरी ए लिगले पनि आफ्नो अफिसियल वेबसाइटमा रोनाल्डोको रेकर्डबारे चर्चा गर्दै बधाई दिएको छ । लिगले रोनाल्डो इटालीको शीर्ष लिगमा समय र खेल संख्याका हिसाबले पनि सबैभन्दा चाँडो ७० गोल पूरा गर्ने खेलाडी बनेका हुन् । रोनाल्डोले मात्रै करिब साढे दुई सिजनमा ८३ खेलबाट ७० गोल गरे, जुन इतिहासकै सबैभन्दा चाँडो हो ।

जारी सिजन रोनाल्डोले घरेलु लिगमा कूल १८ गोल गरिसकेका छन् । उनले १९ खेलबाट १८ गोल गरेका हुन् । उनले यो सिजन ४ असिस्ट पनि गरेका छन् । यो सिजन उनले सबैखाले प्रतियोगिताबाट २८ खेलबाट २५ गोल र ६ असिस्ट गरेका छन् । उनले घरेलु लिगमा सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

प्रकाशित मिति १२ फाल्गुन २०७७, बुधबार ०७:०३
Loading...