आज बार्सिलोना १८औं स्थानको इल्चेसँग खेल्दै : मुख्य खेलाडीलाई विश्राम दिने तयारी

काठमाडौं, फागुन १२
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज बार्सिलोनाले यो सिजनको २४औं साताको खेल खेल्दै छ । यो खेलका लागि चौथो स्थानको बार्सिलोनाले १८औं स्थानको इल्चेलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल बार्सिलोनाको घरेलु क्याम्प नोउ रंगशालामा नेपाली समयअनुसार राति ठीक ११ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा बार्सिलोना ४७ अंकसहित चौथो स्थानमा छ । बार्सिलोनाले यो सिजन कूल २३ खेल सकिँदा १४ खेल जितेर ५ खेल बराबरी गर्दा ४ खेल हारेको छ । बार्सिलोना हालकै अवस्थामा समान खेल खेलेको लिग लिडर एथ्लेटिको मड्रिडभन्दा ८ अंकले पछि परेको छ ।

यता, आज बार्सिलोनाको घरेलु मैदानमा उत्रिन लागेको इल्चे भने रेलिगेसन जोनमा रहेको छ । इल्चेले यो सिजन २२ खेल सकिँदा मात्रै २१ अंक जोडेको छ । ऊ १८औं स्थानमा छ । इल्चेले पछिल्ला ५ मध्ये मात्रै १ खेल जितेको छ भने बार्सिलोनाले पछिल्ला ५ मध्ये ४ खेल जितेर १ खेल बराबरी गरेको छ ।

आजको खेलमा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले केही प्रमुख खेलाडीलाई आराम दिने सम्भावना छ । आजको खेलपछि बार्सिलोनाले ला लिगामै बलियो टोली सेभिल्लासँग अवे मैदानमा आगामी शनिबार खेल्ने हुँदा सो खेलका लागि कप्तान लिओनल मेस्सीसहितका केही मुख्य खेलाडीलाई आराम दिइने तयारी गरेको स्पेनिस मिडियाले जनाएका छन् ।

आज राति आफ्नो घरमा हुने यो खेल जिते बार्सिलोना ५० अंक बनाएर तेस्रो स्थानमा उक्लिनेछ । र, सेभिल्ला चौथो स्थानमा झर्नेछ । यो खेल जित्दा पनि बार्सिलोना समान खेलपछि दोस्रो स्थानको रियल मड्रिडभन्दा २ र एक खेल कम खेलेको एथ्लेटिकोभन्दा ५ अंकले पछि नै पर्नेछ ।

प्रकाशित मिति १२ फाल्गुन २०७७, बुधबार ०५:३३
Loading...