‘एमबाप्पे मेस्सीको छेउमा पनि छैनन्, न मेस्सीको स्तरमै पुग्न सक्छन्’

एजेन्सी, फागुन १३
गत साता च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा फ्रेन्च क्लब पिएसजीले स्पेनिस क्लब बार्सिलोनालाई उसकै घरमा १–४ ले हरायो । सो खेलमा पिएसजीका युवा फ्रेन्च स्टार केलियन एमबाप्पेले बार्सिलोनाको घरेलु मैदानमा उत्कृष्ट ह्याट्रिक गोल गरे । एबाप्पेकै गोलका कारण बार्सिलोना यसपटक पनि खराब नतिजाका साथ प्रतियोगिताबाट आउट हुने नजिक पुगेको छ ।

सो खेलपछि धेरैले एमबाप्पेको तुलना बार्सिलोनाका मेस्सीसँग गरे । कतिपयले एमबाप्पे मेस्सीको भन्दा उत्कृष्ट दिशा र यात्रामा रहेको भन्दै तुलनासमेत गर्न भ्यााए । तर, फ्रेन्च क्लब रेन्जर्स तथा स्टकल्यान्डका लिजेन्ड खेलाडी एली म्याकोसिस्टले भने एमबाप्पे मेस्सीको छेउ पनि नरहेको बताउँदै भविष्यमा पनि उनी मेस्सीको स्तरमा पुग्न नसक्ने बताएका छन् ।

एमबाप्पे र मेस्सीको टिम यसअघि सन् २०१८ को रसिया विश्वकपको अन्तिम १६ मा भिडेका थिए, जहाँ एमबाप्पेकै नायकत्वमा फ्रान्सले मेस्सीसहितको अर्जेन्टिनालाई ४–३ ले हराएर प्रतियोगिताबाटै आउट गराएको थियो । र, फ्रान्सपछि विश्व च्याम्पियन पनि बन्यो । त्यसपछि यसपटक च्याम्पियन्स लिगमा मेस्सीको टिम पुनः एमबाप्पेको टिमबाटै आउट हुने नजिक पुगेको छ ।

‘मलाई लाग्दैन कि, एमबाप्पेले खुट्टामा बल हुँदा त्यस्ता जादुमय पल देखाउन सक्छन्, जस्तो मेस्सीले देखाउन सक्छन् । यसमा मेस्सीको खुबी अद्भुत छ । मेस्सी फुटबल इतिहासकै महान्मध्येका एक हुन् । एमबाप्पे एक उत्कृष्ट युवा खेलाडी हुन् । र, उनीपछि विश्वकै एक उत्कृष्ट बन्न सक्छन् । तर, मेस्सी र उनमा आकाश–धर्तीको अन्तर छ । यदि कसैले एमबाप्पेले मेस्सीलाई पनि उछिन्न सक्छन् भन्छ भने त्यो मेरा लागि केवल जोक्स मात्रै हुनेछ ।’

भविष्यमा पनि एमबाप्पे मेस्सीको स्तरमा पुग्न नसक्ने बताउँदै म्याकोसिस्टले अहिलेकै अवस्थामा उनी मेस्सीको कुनै छेउमा पनि नरहेको बताए । ‘मलाई यसमा भन्न कुनै शंकोच छैन कि, अहिलेकै अवस्थामा एमबाप्पे मेस्सीको कुनै छेउछाउमा पनि छैनन् । र, भविष्यमा पनि उनी मेस्सीको स्तरमा कहिल्यै पुग्नेछैनन् । किनभने, एमबाप्पेमा केही फरक खुबी छ । तर, उनमा मेस्सीको जस्तो प्रतिभा छैन,’ म्याकोसिस्टले भने ।

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार १२:३२
Loading...