बार्सिलोनासँग कोपाको दोस्रो लेगको खेलबारे यसो भन्छन् राकिटिक

एजेन्सी, फागुन ११
आगामी मार्च ३ तारिखमा स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोना र सेभिल्लाले सेमिफाइनलमा दोस्रो लेगको निर्णायक खेल खेल्दैछन् । यसअघि सेभिल्लाको घरमा भएको पहिलो लेगमा बार्सिलोना २–० ले पराजित भएको थियो । अब फाइनल जान दोस्रो लेगको निर्णायक खेल बार्सिलोनाको घरेलु मैदानमा हुँदैछ ।

आफ्नो घरमा खेल्दा बार्सिलोनालाई सेभिल्लाविरुद्ध कमब्याक जितको आवश्यकता पर्छ । उसले सेभिल्लालाई कम्तीमा ३–० ले हराउनुपर्छ । यदि सेभिल्लाले मात्रै १ गोल गरे बार्सिलोनालाई जितका लागि ४ गोल आवश्यक पर्छ । सेभिल्लाले २ गोल गरे बार्सिलोनालाई ५ गोल आवश्यक पर्छ । बार्सिलोनालाई सेभिल्लाविरुद्धको कमब्याक सजिलो छैन तर असम्भव पनि छैन ।

सो खेलअघि सेभिल्लाका क्रोएसियन मिडफिल्डर इभान राकिटिकले बार्सिलोनासँगको दोस्रो लेगबारे धारणा राखेका छन् । ‘स्पोर्ट’सँग कुरा गर्दै उनले सेभिल्ला कपको फाइनल पुग्ने र क्याम्प नोउमा पनि सेभिल्लाले जित्ने दाबी गरेका छन् । राकिटिक बार्सिलोनाका पूर्वखेलाडी हुन् । उनी गत समर सिजनमा बार्सिलोनाबाट पुरानो क्लब सेभिल्ला फर्किएका थिए ।

‘अहिलेको हाम्रो लक्ष्य कपको फाइनल पुग्नु मात्रै हैन, उपाधि जित्नु हो । हामी च्याम्पियन बन्न चाहन्छौं । यदि हामी फाइनल खेल्न चाहन्छौं भने बार्सिलोनालाई दोस्रो लेगमा रोक्नुपर्छ । र, सेभिल्लाले त्यो काम गर्नेछ,’ राकिटिकले भने, ‘हामीसँग होम लेगको २–० को नतिजा छ । जब हामी क्याम्प नोउ पुग्छौं, त्यहाँ पनि अर्को स्पष्ट जित हाम्रो लक्ष्य हुनेछ । किनभने, हाम्रो लक्ष्य बार्सिलोनाविरुद्ध सकेसम्म उत्कृष्ट जित हाँसिल गर्नु हो ।’

राकिटिकले बार्सिलोनाविरुद्ध क्याम्प नोउमा खेल्न सजिलो नहुने बताउँदै सेभिल्लाले राम्रै तयारी गर्ने बताए । ‘मलाई थाहा छ, क्याम्प नोउमा बार्सिलोनाविरुद्ध खेल्नु सधैं कठिन हुन्छ । उनीहरू हामीमाथि पुनरागमन गर्नैपर्ने दबाबमा हुनेछन् । तर, त्यहाँ हामीले उनीहरूलाई रोके मात्रै पनि पुग्छ,’ राकिटिकले भने, ‘दोस्रो लेगमा जे पनि हुन सक्छ । तर, हामी त त्यहाँ पनि अर्को सुन्दर जितकै लागि जानेछौं ।’

राकिटिकले बार्सिलोनाप्रति आफ्नो सधैं सम्मान रहेको बताउँदै आफूले टिमका लागि खेल्ने बताए । ‘बार्सिलोनामा मैलै जीवनका सुनौला वर्षहरू बिताएको छु । त्यो ठाउँ र त्यहाँका खेलाडीप्रति मेरो सधैं उच्च सम्मान हुन्छ । तर, म अहिले सेभिल्लाको खेलाडी हुँ । र, म यस टिमलाई जिताउन १०० प्रतिशत दिनेछु,’ राकिटिकले भने ।

समर सिजनमा बार्सिलोनाबाट सेभिल्ला फर्किकन राकिटिले हालसम्म कूल ३० खेल खेलिसकेका छन् । सोक्रममा उनले ३ गोल गर्दै ४ गोलमा असिस्ट प्रदान गरेका छन् । यसअघि पहिलो लेगमा सेभिल्लाले बार्सिलोनालाई २–० ले हराउँदा राकिटिकले पनि १ गोल गरेका थिए ।

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार ०३:३०
Loading...