फेरि ‘उपाधिमा निल’ हुने अवस्था : बार्सिलोनाले उपाधि जित्ने आशा मार्‍यो  तर लड्न भने नछाड्ने !

एजेन्सी, फागुन १०
स्पेनिस फुटबल क्लब बार्सिलोनाले ला लिगामा गत राति लिगको २३औं साताको खेल १५औं स्थानको क्याडिजसँग खेल्दा आफ्नै घरमा १–१ को नतिजामा चित्त बुझायो । सो खेलअघि लिग लिडर एथ्लेटिको मड्रिड लेभान्टेसँग घरमै २–० ले हारेपछि दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनालाई आ–आफ्ना खेल जितेर एथ्लेटिकोसँग अंक दूरी छोट्याउने मौका थियो ।

तर, रियल मड्रिडले आफ्नो खेल भाल्लाडोलिडसँग १–० ले जितेर एथ्लेटिको हार्दाको फाइदा उठायो भने बार्सिलोनाले सकेन । जित्नैपर्ने खेलमा उसले आफ्नै मैदानमा यसै सिजन ला लिगामा बढुवा भएको क्याडिजसँग निराशाजनक १–१ को बराबरी खेल्यो । दुवै टिमले खेलमा पेनाल्टीमार्फत् गोल गरेका थिए ।

गत रातिको निराशाजनक बराबरीपछि बार्सिलोनाका लागि यो सिजनको लिग उपाधि होड झनै कमजोर बनेको छ । अहिले बार्सिलोना लिग लिडर एथ्लेटिकोभन्दा ८ अंक र दोस्रो स्थानको रियल मड्रिडभन्दा ५ अंकले पछि परेको छ । त्यसमा एथ्लेटिको र बार्सिलोनाले समान खेल खेलेका छन् भने रियलले एक खेल्नै बाँकी छ ।

पिकेले मारे उपाधि जित्ने आशा, भन्छन्– ‘अन्तिमसम्म लड्न छाड्दैनौं’

गत रातिको बराबरी नतिजापछि बार्सिलोनाका डिफेन्डर तथा उपकप्तान जेरार्ड पिकले निकै निराशाजनक प्रतिक्रिया दिए । खेलपछि मिडियासँग कुरा गर्दै उनले क्याडिजसँगको बराबरी नतिजाले थप समस्या बढाएको बताए । तर, उनले आफ्नै क्लबको अफिसियल टिभीसँग भने बार्सिलोनाले उपाधिका लागि अन्तिमसम्म लड्ने पनि बताए ।

‘आजको १–१ को नतिजा हामीले कल्पनै नगरेको नतिजा हो । हामी यो खेल जित्नेमा ढुक्क थियौं । र, जित्नुपर्ने थियो । तर, हामीले महत्त्वपूर्ण २ अंक गुमायौं,’ पिकेले भने, ‘एथ्लेटिको मड्रिड लेभान्टेसँग पराजित हुँदाको फाइदा लिने अवसर हामीलाई थियो । तर, हामी चुक्यौं । मलाई लाग्छ, यो नतिजाले हामीलाई होडबाट अझै पर धकेलेको छ ।’

पिकेले अंकगणितीय हिसाबले लिग उपाधि अझै खुला रहेको तर बार्सिलोनाका लागि व्यवहारिक हिसाबले कठिन रहेको बताए । ‘अंकगणितीय हिसाबले पनि लिग अझै खुला छ । तर, हामी अहिले जसरी खेलिरहेका छौं, यसरी नै जाने हो भने चाहिँ हामी न लिग जित्छौं, न अन्य कुरा । हामी केही जित्नेछैनौं । किनभने, हामी सही दिशामै छैनौं । यो निकै खराब अवस्था हो । र, हामीले तत्कालै अवस्थामा सुधार ल्याउनुपर्छ । एक खेल राम्रो खेलेर ३ खेल खराब खेल्दा हामी केही पति जित्दैनौं,’ पिकेले भने ।

पिकेले ‘बार्सा टिभी’ सँग कुरा गर्दै आफूहरू सिजनको अन्तिम खेलसम्म नै उपाधिका लागि लड्ने पनि बताए । ‘हालको अवस्था हाम्रा लागि एकदमै खराब हो । तर, लिगमा अझै थुप्रै खेल बाँकी छन् । र, बार्सिलोना अन्तिमसम्म पनि संघर्ष गर्नेछ,’ पिकेले भने, ‘हामीले शिर उठाउनुपर्छ । र, सबैले सुधार गरेर अघि बढ्नुपर्छ ।’

प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार ०८:१२
Loading...