‘रोनाल्डो सधैं मेस्सीभन्दा माथि नै हुनेछन्, रोनाल्डोसँग उनको तुलना हुनै सक्दैन’

एजेन्सी, फागुन १०
जर्मन क्लब बायर लेभरकुसेन तथा जमाइकका युवा खेलाडी लियोन बेलीले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीको उत्कृष्टताबारे धारणा राखेका छन् । उनले एक अन्तर्वार्तामा कुरा गर्दै रोनाल्डो सधैं मेस्सीभन्दा माथि रहने मात्रै बताएका छैनन्, रोनाल्डोसँग मेस्सीको तुलना हुन नसक्ने पनि भनाइ राखेका छन् ।

हाल इटालियन युभेन्टसबाट खेलिरहेका रोनाल्डो र स्पेनिस बार्सिलोनाबाट खेलिरहेका मेस्सीले आफ्नो करिअर दौरान प्राप्त गरेको सफलताका आधारमा रोनाल्डो सधैं मेस्सीभन्दा अगाडि र माथि हुने बताएका छन् । बेलीले दुवैलाई महान् खेलाडी भन्दै नम्बर वान रोज्नुपर्दा बिनाशंका रोनाल्डोको नाम आउने बताएका हुन् ।

बेलीले मेस्सीलाई छाडेर रोनाल्डोलाई रोज्नुका दुई कारण दिएका छन् । पहिलो– रोनाल्डोले फरक–फरक क्लबबाट खेलेर उत्तिकै सफलता पाउनु तर मेस्सीले सधैं एकै क्लबबाट खेलेर पनि रोनाल्डोले जति ठूला उपाधि नजित्नु । दोस्रो– रोनाल्डोले दुई अन्तर्राष्ट्रिय उपाधि जित्नु तर मेस्सीले आजसम्म पनि देशका लागि केही जित्न नसक्नु ।

‘मेस्सी सधैं एकै क्लबमा छन् । तर, क्रिस्टियानोले फरक–फरक क्लबबाट खेले । र, मेस्सीको भन्दा धेरै ठूला उपाधि (च्याम्पियन्स लिग) जिते । यी दुईमा को बेस्ट भनेर हेर्ने एक प्रमुख आधार यो हो,’ बेलीले भनेका छन्, ‘मेस्सीले १७ वर्षसम्म एकै ठाउँबाट खेलेर जति जितेका छन्, क्रिस्टियानोले कठिन र ठूला लिगहरूबाट खेलेर पनि मेस्सीको भन्दा धेरै च्याम्पियन्स लिग जितेका छन् । यसकारण म सधैं रोनाल्डोलाई मेस्सीभन्दा माथि राख्छु । तर, उनीहरू दुवै महान् छन् ।’

बेलीले मेस्सीले अन्तर्राष्ट्रिय उपाधि नजित्दासम्म रोनाल्डोसँग तुलना गर्नु हाँस्यास्पद हुने पनि बताए । ‘क्रिस्टियानोले दुई अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । तर, मेस्सीले आजसम्म पनि अर्जेन्टिनका लागि उपाधि जित्न सकेका छैनन् । क्रिस्टियानो मेस्सीभन्दा माथि छन् भनेर भन्न यो सबैभन्दा ठूलो आधार हो । क्रिस्टियानोले आफ्नै कप्तानीमा पोर्चुगललाई दुई–दुईपटक च्याम्पियन बनाए, यस्तो सफलता मेस्सीसँग छैन,’ बेलीले भने ।

बेलीले प्रतिभाका हिसाबले भने आफूले मेस्सीलाई पहिलो स्थानमा राख्ने बताए । ‘यो म पनि मान्छु, प्रतिभाको विषयमा रोनाल्डोभन्दा मेस्सी माथि छन् । तर, सफलताका कुरा गर्नुहुन्छ भने मेस्सी रोनाल्डोभन्दा धेरै पछाडि नै छन्,’ बेलीले भने ।

प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार ०५:१६
Loading...