मोनाकोले पिएसजीलाई उसकै घरमा चखायो लज्जास्पद हार : चलेन एमबाप्पेको जादु

काठमाडौं, फागुन १०
युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्पेनिस क्लब बार्सिलोनालाई उसकै घरेलु मैदानमा १–४ को लज्जास्पद हार चखाएको ३ दिनपछि पिएसजी घरेलु लिगमा आफ्नै घरमा लज्जास्पद हारको सिकार भएको छ । गत राति भएको लिगको २६औं साताको खेलमा पिएसजीलाई मोनाकोले उसकै घरेलु मैदान पेरिसमा ०–२ ले स्तब्ध बनायो ।

घरेलु मैदानमा तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध उत्रिँदा पिएसजीका स्टार खेलाडीहरूको कुनै जादु चलेन । च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गोल गरेका एमबाप्पेले पनि यस खेलमा कुनै जादु देखाउन सकेनन् । मोनाको एमबाप्पेको पूर्वक्लब पनि हो । यो हार पिएसजीका लागि जारी सिजनको छैटौं हार हो ।

पिएसजीको घरमा मोनाकाको लागि खेलको छैटौं मिनेटमै सोफिआने डिओपले गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो गोल खेलको ५१औं मिनेटमा गुइलेर्मो मारिपानले गरेर खेल ०–२ बनाए । त्यसपछि पिएसजी खेलमा फर्किन सकेन । र, खेल मोनाकोले ०–२ ले जित्यो ।

मोनाकोविरुद्ध पिएसजीले कूल १० आक्रमण बुन्दा मात्रै १ पटक अन टार्गेट प्रहार गरेको थियो । उसले खेलभरि ७५ प्रतिशत बल आफ्नो पकडमा राख्यो भने कूल ७९४ सफल पास खेल्यो । तैपनि, उसले १ गोल गर्न सकेन । यता, मोनाकोले खेलभरि जम्मा ५ पटक मात्रै सट हान्दा ३ सट सही दिशामा हानेको थियो भने २ सटमा गोल निकाल्न फल भयो ।

अब यो जितपछि मोनाकोले २६ खेलबाट ५२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित पिएसजी भने समान खेलपछि ५४ अंकसहित तेस्रो स्थानमा छ । पिएसजी हालकै अवस्थामा लिग लिडर लिलेभन्दा ४ अंकले पछि रहेको छ ।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार १६:३७
Loading...