‘ऋण काडेर’ भए पनि बार्सिलोनाले हल्यान्ड भित्र्याउने : मूल्य कति ?

एजेन्सी, फागुन ७
स्पेनिस फुटबल क्लब बार्सिलोनाले आगामी समर सिजनमा युवा गोल मेसिन खेलाडी भित्र्याउने योजना बनाएको छ । जसमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका गोल मेसिन खेलाडी अर्लिङ हल्यान्डलाई बार्सलोनाले प्राथमिकताको सूचीमा पहिलो नम्बरमा राखेको छ ।

हाल उमेरले २० वर्ष मात्रै रहेका नर्वेका हल्यान्ड अघिल्लो समर सिजनमा अस्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट अनुबन्ध भएका थिए । जर्मनी पुगेपछि नै हल्यान्ड लगातार उच्च लयमा खेलिरहेका छन् । उनको उच्चस्तरको प्रदर्शनबाट लोभिएर अहिले युरोपका सबैजसो ठूला क्लब हल्यान्डमाथि नजर लगाइरहेका छन् ।

हल्यान्डलाई स्पेनकै अर्को क्लब रियल मड्रिडले पनि चासोका साथ हेरिरहेको छ । रियल समर सिजनमा हल्यान्ड र फ्रेन्च क्लब पिएसजीका अर्लिङ हल्यान्डमध्ये एक खेलाडी जसरी पनि भित्र्याउने दौडमा छ । रियलको पहिलो प्राथमिकतामा एमबाप्पे र उनी सम्भव नभए दोस्रो नम्बरमा हल्यान्ड हुने बताइन्छ ।

तर, बार्सिलोना पछिल्लो समय लगातार खराब अवस्थाबाट गुज्रिरहँदा क्लब नयाँ गोलकर्ता खेलाडीको खोजीमा छ । लुइस स्वारेजलाई फ्री ट्रान्सफरमा एथ्लेटिको मड्रिड पठाएपछि बार्सिलोना लगातार गोलको खडेरीबाट गुज्रिरहेको छ । स्वारेज हिँडेपछि कप्तान लिओनल मेस्सी पनि आफ्नो पुरानो लयमा छैनन् । र, मेस्सीले यो सिजनपछि बार्सिलोना छाड्ने तयारी गरेकाले आगामी सिजन क्याटलान टोली झनै ठूलो समस्या र संकटमा फस्नेवाला छ । मेस्सीले क्लब छाडेपछि टोलीमा निम्तिले अझै ठूलो संकट पन्छाउन बार्सिलोनाले भरपर्दा गोलकर्ता खेलाडी भित्र्याउन चाहेको छ ।

गत वर्षबाटै कोरोना भाइरस महामारीका कारण बार्सिलोना अहिले नै ठूलो ऋण डुबेको रिपोर्ट आइरहेका छन् । टोलीमा महँगा खेलाडीको तलब धान्न पनि कठिन परिरहेको अवस्थामा बार्सिलोनाले ऋण काडेर भए पनि समरमा नयाँ खेलाडी ल्याउन आन्तरिक तयारी थालेको रिपोर्ट आएका छन् ।

बार्सिलोनाको बोर्डमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदका दाबेदार जोआन लापोर्टाले यदि आफू अध्यक्षमा निर्वाचित हल्यान्डलाई कुनै पनि हालतमा भित्र्याउने बताएका छन् । ‘मार्का’ सँग कुरा गर्दै उनले हल्यान्ड अनुबन्धका लागि आफूले सम्बन्धित पक्षसँग छलफलसमेत थालिसकेको बताएका छन् ।

रिपोर्टअनुसार लापोर्टाले डर्टमुन्डका खेल निर्देशक मिकाएल जर्चसँग गोप्य छलफल थालिसकेका छन् । त्यसैगरी, उनले हल्यान्डका निजी एजेन्ट मिनो राइओलासँग पनि आफूले छलफल गरिरहेको लापोर्टाले नै बताएका छन् । ‘बार्सिलोनालाई सकेसम्म चाँडो एक गोलकर्ता खेलाडी चाहिएको छ, यदि लिओनल मेस्सीले क्लब छाडे पनि वा नछाडे पनि । यदि म अध्यक्षमा निर्वाचित भएँ भने ऋण काडेर भए पनि नयाँ खेलाडी अनुबन्ध गरिनेछ,’ लापोर्टाले भनेका छन्, ‘मेरो योजनामा अर्लिङ हल्यान्ड छन् । उनलाई समर सिजनमा यहाँ ल्याउन हामी सबथोक गर्नेछौं ।’

‘ट्रान्सफर मार्केट’ का अनुसार अहिले हल्यान्डको मार्केट भ्यालु ११० मिलियन युरो रहेको छ । यो ३ महिनाअघिको मार्केट भ्यालु हो । तर, सरुवा बजारमा विभिन्न रिपोर्टअनुसार डर्टमुन्डले आफ्ना गोल मेसिन र यो समयका टप–३ मा युवा स्टार गोलकर्ता खेलाडीलाई १७५ मिलयन युरोभन्दा कम मूल्यमा बेच्नेछैन ।

प्रकाशित मिति ७ फाल्गुन २०७७, शुक्रबार १४:५०
Loading...