एजेन्सी, फागुन ७
गत मंगलबार राति युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना आफ्नै घरेलु मैदानमा पाहुना टोली फ्रेन्च क्लब पिएसजीसँग १–४ अन्तरले पराजित भयो । बार्सिलोना पछिल्ला ५ वर्षझैं यसपटक पनि अर्को अपमानजनक हारको सिकार हुँदा ठूलो चर्चा र आलोचनाको विषय पनि बन्यो । क्याम्प नोउ रंगशालामा बार्सिलोनालाई लज्जास्पद हार चखाउनेक्रममा पिएसजीका युवा स्टार केलियन एबाप्पले उत्कृष्ट प्रदर्शनका साथ ह्याट्रिक गोल गरेका थिए ।
बार्सिलोनाका लागि कप्तान लिओनल मेस्सीले पहिला पेनाल्टी गोल गरेर टिमलाई अग्रता दिलाए पनि त्यसपछि बार्सिलोनामाथि पिएसजीले दादागिरी नै देखाए । त्यसमा पनि २१ वर्षका एमबाप्पेले विश्वकै एक उत्कृष्ट खेलाडी मेस्सीको टिमविरुद्ध आफ्नो ‘हिरोगरी’ राम्रैसँग देखाए । उनले सन् २०१८ मा रसियामा भएको विश्वकप फुटबलमा फ्रान्सको टोलीबाट मेस्सीको टिम अर्जेन्टिनालाई आउट गराउन नायकको भूमिका खेलेका थिए, यसपटक च्याम्पिन्स लिगको पहिलो लेगको खेलमा मेस्सीकै टिमलाई निराश बनाउन पनि उनले नायकको भूमिका खेले ।
अब बार्सिलोनालाई अन्तिम आठमा पुग्नका लागि पिएसजीको घरमा हुने दोस्रो लेगमा कम्तीमा ०–४ को एकपक्षीय जित चाहिन्छ । तर, पिएसजी भने आफ्नो घरमा ०–३ ले हारे पनि अन्तिम आठमा पुग्न काफी हुन्छ । हालकै अवस्था हेर्दा बार्सिलोना अन्तिम १६ बाटै आउट हुने करिब–करिब पक्का देखिएको छ । किनभने, बार्सिलोना यो सिजन त्यसै पनि राम्रो लयमा छैन ।
किन सेभिल्लाले बार्सिलोनाको मजाक उडायो ?
बार्सिलोना पिएसजीसँग आफ्नै मैदानमा १–४ ले हारेपछि ला लिगामा बार्सिलोनाको प्रतिस्पर्धी सेभिल्लाले भने सार्वजनिक रूपमै बार्सिलोनाको मजाक उडाउनेखालको ट्वीट गरेको छ, जसको धेरैले विरोध र आलोचना पनि गरेका छन् । बार्सिलोना र पिएसजीको खेल सकिएपछि सेभिल्लाले खेल दौरानको एक तस्बिरमा मजाक उडाउनेखालको सन्देश लेख्दै आफ्नो अफिसियल ट्वीटरबाटै पोस्ट गरेको छ ।
बार्सिलोना र पिएसजीको खेल दौरान पिएसजीका युवा फरवार्ड एमबाप्पे बल लिएर अघि बढिरहेका बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले पछाडिबाट एमबाप्पेको जर्सी समात्दै तानेर रोक्न खोजेका थिए । पिकेले प्रष्ट रूपमै वेगमा अघि बढेका एमबाप्पेको टि–सर्टको पछाडिको फेरो समातेर बलपूर्वक तानेका थिए । सो फउलमा पिकेलाई पहेंलो कार्ड पनि दिइएन । पिकेले एमबाप्पेको जर्सी समातेर तानेको भिडयो क्लिप र तस्बिर अहिले सामाजिक सन्जालमा भाइरल नै बनेका छन् ।
त्यही तस्बिर सेभिल्लाले आफ्नो ट्वीटरबाट पोस्ट गरेको छ । बल लिएर वेगमा अघि बढेका एमबाप्पेलाई पछाडिबाट जर्सी समातरे निकै कठिन र संघर्षका साथ रोक्ने प्रयसामा देखिएका पिकेको हालत निकै खराब देखिन्छ । त्यही तस्बिरमाथि सेभिल्लाले व्यंग्यपूर्ण केही वाक्य लेखेको छ । सेभिल्लाले तस्बिरमार्फत् एमबाप्पेको जर्सी तान्दै गरेका पिकेलाई ‘युरोपा लिग’ भनेको छ भने बल लिएर अघि बढेका एमबाप्पेलाई सांकेतिक रूपमा ‘सेभिल्ला च्याम्पियन्स लिगको अन्तिम १६ मा’ भनेको छ ।
स्मरण रहोस्, गत बुधबार मात्रै कोपा डेल रे फुटबलको सेमिफाइनलको पहिलो लेगमा सेभिल्लाले बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा २–० ले हराएको थियो । अब दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा आगामी मार्च ३ तारिखमा हुनेछ ।
प्रकाशित मिति ७ फाल्गुन २०७७, शुक्रबार ०४:५३— Sevilla FC (@SevillaFC_ENG) February 17, 2021