पहिलो लेग १–४ ले हारे पनि नो प्रोब्लेम : ग्रीजम्यानले पिएसजीलाई दिए कडा चेतावनी

एजेन्सी, फागुन ५
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना गत राति फ्रेन्च क्लब पिएसजीसँग आफ्नै घरेलु मैदानमा १–४ को लज्जास्पद हारको सिकार भयो । आफ्नै घरमा बार्सिलोना निरीह हुँदा ऊ यसपटक पनि अन्तिम १६ बाटै खराब हारका साथ बाहिरिने नजिक पुगेको छ । यदि पिएसजीको मैदानमा हुने दोस्रो लेगमा बार्सिलोनाले कम्तीमा ०–४ को फराकिलो जित ननिकाले ऊ लगातार छैटौं वर्ष पनि फाइनल नपुगी प्रतियोगिताबाट आउट हुनेछ ।

गत राति आफ्नै देशको क्लबसँग नमिठो हारपछि बार्सिलोनाका फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानले भने बार्सिलोनाले दोस्रो लेगमा कमब्याक गर्ने दाबी गरेका छन् । उनले त बार्सिलोना पेरिस जाँदा घुम्न नभई जित्न जाने समेत बताएका छन् । खेलपछि ‘बार्सा टिभी’ सँग कुरा गर्दै ग्रीजम्यानले बार्सिलोनाले क्याम्प नोउमा खराब खेल खेलेको भन्दै अवे खेलमा गल्ती सुधार गर्ने बताए ।

‘आज हामीले जस्तो चाहेका थियौं, त्यस्तो भएन । र, हामीले जति दिन सक्छौं भन्ने लागेको थियो, त्यत्ति सकेनौं भने । समग्रमा यो एक खराब खेल थियो,’ ग्रीजम्यानले भने, ‘हामीले अन्तिमसम्म नै लड्यौं । तर, उनीहरू हामीभन्दा बेस्ट फर्ममा थिए । दोस्रो लेगका लागि हामीले अझै धेरै मेहनत र गर्नुपर्छ । र, गल्ती सुधार्नुपर्छ ।’

ग्रीजम्यानले पिएसजीले बार्सिलोनाको भन्दा उत्कृष्ट खेलेरै जितेको भन्दै तारिफ पनि गरे । ‘उनीहरूले हामीभन्दा राम्रो खेलेर नै जितेका हुन् । हामीले खेल्न नसकेकै हो । तर, हामीले ४ गोल खानु हुन्थेन,’ ग्रीजम्यानले थपे ।

ग्रीजम्यानले पिएसजीलाई दोस्रो लेगमा देखाउने भन्दै चेतावनीमूलक पारामा सन्देश दिए । उनले आफूहरू पिएसजीको घरमा जाँदा पेरिस घुम्न नभई कमब्याक जितका लागि जाने बताए । ‘अझैं दोस्रो लेगको खेल बाँकी छ । हामीलाई ज्यादै कठिन छ । तर, हामी पेरिस घुम्नका लागि होइन, कमब्याक जितका लागि जानेछौं । र, हामी त्यहाँ ९० मिनेट लड्नेछौं । यति समयमा फुटबलमा असम्भव पनि सम्भव हुन्छ ।’

प्रकाशित मिति ५ फाल्गुन २०७७, बुधबार ०६:५३
Loading...