प्रिमियर लिग : वेस्ट ह्यामले टोटनह्यामलाई दियो नमिठो चोट

काठमाडौं, फागुन ९
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा हेभिवेट टोली टोटनह्याम अर्को नमिठो हारबाट पीडित बनेको छ । आज आइतबार राति भएको खेलमा टप–४ मा रहेको वेस्ट ह्यामले आफ्नो मैदानमा नवौं स्थानको टोटनह्यामलाई २–१ ले स्तब्ध बनायो ।

टोटनह्यामलाई हराउँदै वेस्ट ह्याम भने टेबलको चौथो स्थानमा पनि चढेको छ । यता, टोटनह्यामलाई पनि यो पराजयले झनै खराब हालतमा पुराएको छ । टोटनह्यामलाई अहिले टप–४ मा उक्लिन पनि निकै कठिन देखिएको छ ।

आज भएको लन्डन डर्बी खेलमा घरेलु टोली वेस्ट ह्यामलाई जिताउन मिचेल एन्टोनिओ र जेसस लिंगार्डले १–१ गोल गरे । यता, पराजित टोटनह्यामका लागि लुकास मोउराले १ गोल फर्काए पनि टिमको हार भने टरेन ।

प्रतिस्पर्धात्मक खेलको पाँचौं मिनेटमा एन्टोनिओले गोल गर्दै घरेलु टोलीविरुद्ध अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको वेस्ट ह्यामका लागि खेलको ४७औं मिनेटमा लिंगार्डले गोल गर्दै खेल २–० बनाए । त्यसपछि टोटनह्यामका लागि ६४औं मिनेटमा मोउराले गोल गरेर खेल २–१ मा छोट्याएका थिए । तर, त्यसपछि दोस्रो गोल गर्न नसक्दा खेल वेस्ट ह्यामले २–१ ले जित्यो ।

अब यो जितपछि वेस्ट ह्याम २५ खेलबाट ४५ अंक बनाएर लिगको चौथो स्थानमा चढेको छ । उसले चेल्सीलाई २ अंकले पछि पार्दै माथि चढेको हो । समान खेल खेलेको चेल्सी भने ४३ अंकसहित पाँचौंमा झरेको छ । यता, पराजित टोटनह्याम भने २४ खेलबाट मात्रै ३६ अंकका साथ नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार १०:०८
Loading...