खेलअघि पिएसजीबारे बार्सिलोनाका डेम्बेलेको यस्तो टिप्पणी

काठमाडौं, फागुन ४
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज मंगलबार राति अन्तिम १६ को पहिलो लेगको खेलमा स्पेनिस बार्सिलोना र फ्रेन्च क्लब पिएसजी प्रतिस्पर्धा गर्दैछन् । सो खेल बार्सिलोनाको घरेलु मैदानमा क्याम्प नोउ रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

सो खेलअघि बार्सिलोनाका फ्रेन्च विंगर उसामान डेम्बेलेले पिएसजीसँगको खेलबारे धारणा राखेका छन् । डेम्बेले फ्रान्सकै खेलाडी हन् । र, आज राति उनी बार्सिलोनाबाट आफ्नै देशको नम्बर वान क्लबविरुद्ध च्याम्पियन्स लिगमा उत्रिँदैछन् । उनी सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।

खेलअघि एक अन्तर्वार्तामा कुरा गर्दै डेम्बेलेले पिएसजी बार्सिलोनासँग सन् २०१७ मा भोगेको हारको बदला लिने योजनामा रहेको बताएका छन् । साथै, बार्सिलोना त्यसबाट अति नै सचेत हुनुपर्ने पनि उनले बताएका छन् । ‘हामीलाई थाहा छ कि, पिएसजी बार्सिलोनासँग २०१७ को बदला लिन चाहन्छ । उनीहरू कुनै पनि मूल्यमा हामीलाई हराउन चाहन्छन्,’ डेम्बेलेले भनेका छन्, ‘हामीले यो कुरा अति नै गम्भीरतापूर्वक लिनुपर्छ । हामीले हरेक मिनेट पिएसजीको लक्ष्य र मुभलाई निगरानी गर्नुपर्छ ।’

डेम्बेलेले पिएसजीसँग बार्सिलोनाले कहीं कतै गल्ती गरे त्यो धेरै महँगो पर्न सक्ने बताएका छन । ‘हामी एक उत्कृष्ट टिमसँग खेल्दैछौं । पिएसजीमा क्षमतावान् युवा खेलाडी छन् । उनीहरूको फ्रन्ट लाइन निकै धारिलो छ । यस्तो टिमसँग खेल्दा हामीबाट कहीं कतै सानो गल्ती मात्रै भए पनि त्यसको मूल्य हामीलाई महँगो पर्न सक्छ । हामीलाई यस खेलमा कुनै गल्तीमा पनि क्षमा छैन,’ डेम्बेलेले भने ।

प्रकाशित मिति ४ फाल्गुन २०७७, मंगलवार १५:५८
Loading...