पोचेटिनोको चेतावनी– ‘क्याम्प नोउमा बार्सिलोनालाई पिएसजीले सजिलै छाड्दैन’

एजेन्सी, फागुन ३
युरोपियन च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति (नेपाली समयअनुसार बुधबार बिहान) अन्तिम १६ को पहिलो लेगको खेलमा स्पेनिस बार्सिलोना र फ्रेन्च क्लब पिएसजी भिडन्त गर्दैछन् । अन्तिम १६ कै सबैभन्दा ठूलो भिडन्त मानिएको सो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । यी दुई टोली सन् २०१७ मा अन्तिम १६ मै खेलेदेखि यसपटक फेरि अन्तिम १६ मै खेल्न लागेका हुन् ।

सो खेलका लागि स्पेन प्रस्थान गर्नुअघि पिएसजीका प्रशिक्षक मोउरिसियो पोचेटिनाले बार्सिलोनासँगको खेलबारे धारणा राखेका छन् । केही समयअघि मात्रै पिएसजी सम्हाल्न आएका अर्जेन्टिनी कोचले बार्सिलोनासँगको खेल एक शानदार खेल हुने बताएका छन् । ‘टेलिग्राफ’सँग कुरा गर्दै पोचेटिनोले उनले आफ्नो टिमको तयारीबारे पनि बोलेका छन् ।

‘हामी युरोपकै प्रतिष्ठित प्रतियोगितामा विश्वकै एक उत्कृष्ट टिमसँग खेल्न गाइरहेका छौं । यो खेललाई लिएर हामी निकै उत्साहित र गम्भीर छौं,’ पोचेटिनोले भने, ‘सबैलाई थाहा छ– यो एक भव्य खेल हुनेछ । दुवै टिमले यो खेललाई गम्भीरतापूर्वक लिनेछन् ।’

पोचेटिनोले बार्सिलोनाको घरमा पहिलो लेग खेल्न सजिलो नहुने बताए । ‘पहिलो लेग हामी क्याम्प नोउमा खेल्नेछौं । यस्तो ठूलो खेल अवे मैदानमा खेल्नु सधैं कठिन नै हुन्छ । त्यहाँ विश्वकै उत्कृष्ट खेलाडीहरू छन् । तर, हामी बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छौं,’ पोचेटिनोले भने, ‘क्याम्प नोउमा बार्सिलोनालाई पिएसजीले सजिलै छाड्दैन । हामी त्यहाँ १०० प्रतिशत दिनेछौं । अवे मैदानमा हामी सक्दो राम्रो नतिजा निकाल्न र दोस्रो लेगलाई सहज बनाउन चाहन्छौं ।’

टोलीका प्रमुख खेलाडी नेइमार घाइते भएको विषयमा बोल्दै पोचेटिनोले उनी नहुँदा टिमलाई अभाव खड्किने भए पनि नेइमारबिना पनि आफ्नो टिम बार्सिलोनाविरुद्ध प्रतिस्पर्धा गर्न सक्षम रहेको बताए । ‘अवश्य पनि, नेइमारको अभाव हामीलाई खड्किन सक्छ । तर, उनीबिना पनि हामीसँग बार्सिलोनाविरुद्ध प्रतिस्पर्धा गर्न सक्षम टिम छ,’ पोचेटिनोले भने ।

प्रकाशित मिति ३ फाल्गुन २०७७, सोमबार ०५:४१
Loading...