सिरी ए : १६औं स्थानको स्पेजियासँग एसी मिलानको लज्जास्पद हार

काठमाडौं, फागुन २
इटालियन सिरी ए लिग फुटबलमा यो सिजन उपाधि हाडमा सबैभन्दा अगाडि रहेको एसी मिलानले नमिठो हार भोगेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको लिगको २२औं साताको खेलमा १६औं स्थानको स्पेजियाले लिग लिडर मिलानलाई २–० को नमिठो हारको सिकार बनायो ।

आफ्नो घरेलु मैदानमा स्पेजियाले पाहुना टोली मिलानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सिजनको तेस्रो हार चखायो । उपाधि होडमा अग्रता बढाउन महत्त्वपूर्ण रहेको खेल गुमाएपछि एसी मिलानलाई यो हारसँगै आफूमाथिको दबाब अझै हलुका बनाउने अवसर गुमायो । साबिक च्याम्पियन युभेन्टस नापोलीसँग १–० ले पराजित भएकै राति एसी मिलान पनि हारेको हो ।

स्पेजियाका लागि खेलको ५६औं मिनेटमा जिउलियो मागुइरेले बक्स भित्रबाट हलुका प्रहारमा बललाई जाली चुमाएका थिए । एसी मिलानले बक्समा आएको बल क्लियर गर्न नसक्दा गोल खाएको थियो । त्यसपछि खेलको ६७औं मिनेटमा फ्रि किक पासमा सिमोनी बास्टोनीले निकै शानदार गोल गरेर खेल २–० बनाए । इस्टेभेजले फ्रि किकमार्फत् दिएको पासमा उनले शक्तिशाली प्रहारमा बललाई सोझै जाली चुमाएका थिए ।

सो गोलपछि पाहुना टोली मिलान खेलमा फर्किन सकेन । र, खेल स्पेजियाले २–० ले जित्यो । अब यो जितपछि स्पेजिया २२ खेलबाट २४ अंक बनाएर १४औं स्थानमा चढेको छ । पराजित मिलान २२ खेलपछि ४९ अंकका साथ शीर्ष स्थानमा यथावत छ । मिलान अब एक खेल कम खेलेको दोस्रो स्थानको इन्टर मिलानभन्दा मात्र मात्रै २ अंकले अघि रहेको छ ।

प्रकाशित मिति १ फाल्गुन २०७७, शनिबार २१:२७
Loading...