‘सेभिल्लालाई क्याम्प नोउमा देखाइदिने’ डे जोङको चेतावनी

एजेन्सी, माघ ३०
स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार मिडफिल्डर फ्रेन्की जोङले कोपा डेल रे कप फुटबलमा दोस्रो लेगमा बार्सिलोनाले उत्कृष्ट कमब्याक गरेर देखाउने बताएका छन् । बार्सिलोना सजिलै हार मान्ने टिम नरहेको बताउँदै डच खेलाडीले क्याम्प नोउमा बार्सिलोनाले आफ्नो स्तर देखाउने बताएका हुन् ।

दुई दिनअघि सेभिल्लाको घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगको खेलमा बार्सिलोना २–० ले पराजित भएको थियो । सेभिल्लाले उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनालाई हराएर फाइनल पुग्ने बाटो बलियो बनाएको छ । अब बार्सिलोनाको घरमा मार्च ३ मा हुने दोस्रो लेगमा सेभिल्ला ठूलो अन्तरमा पराजित नभए ऊ फाइनल पुग्नेछ भने बार्सिलोना आउट हुनेछ ।

क्याम्प नोउमा दोस्रो लेग हुँदा बार्सिलोनालाई कमब्याक जितका लागि ३–० को स्पष्ट जित चाहिन्छ । यदि सेभिल्लाले मात्रै १ गोल गरे बार्सिलोनालाई ४ गोल चाहिन्छ । तर, सेभिल्ला बार्सिलोनाको घरमा १–० ले हारे पनि फाइनल पुग्छ । यदि सेभिल्लाले क्याम्प नोउमा १ गोल गरेर समग्रमा खेल बराबरी मात्रै गरे पनि अवे गोलमा आधारमा सेभिल्ला अघि बढ्नेछ ।

मिडफिल्डर जोङले पहिलो लेगको नतिजा अपेक्षाअनुसार नभए पनि दोस्रो लेगमा बार्सिलोनाले नतिजा उल्टाउने दाबी गरेका छन् । ‘पहिलो लेगमा हामी २–० को हारको लायक थिएनौं । हामीले कम्तीमा पनि बराबरी नतिजाका लागि योग्य थियौं,’ खेलपछि डे जोङले भनेका छन्, ‘हामीसँग अझै दोस्रो लेगको सिंगै खेल बाँकी छ । र, दोस्रो लेग हामी क्याम्प नोउमा खेल्नेछौं ।’

डे जोङले अघि थपे, ‘सेभिल्लाप्रति मेरो सम्मान छ । तर, जब उनीहरू दोस्रो लेग खेल्न क्याम्प नोउ आउँछन्, हामी त्यहाँ बार्सिलोनाको स्तर देखाउँछौं । किनभने, हामी नतिजा उल्टाउन तयार छौं ।’

डे जोङले बार्सिलोनाले अन्तिम समयसम्म लड्ने र सजिलै हिम्मत नहार्ने बताए । ‘हामी बार्सिलोना हौं । र, सजिलै हरेश खाँदैनौं । हामी जसरी पनि कपको फाइनल पुग्न चाहन्छौं । त्यसका लागि हामीले दोस्रो लेगमा १०० प्रतिशत दिनुपर्छ,’ डे जोङले भने, ‘२–० उल्टाउन सजिलो हुनेछैन । तर, हामी यसलाई सम्भव बनाउनेछौं ।’

प्रकाशित मिति ३० माघ २०७७, शुक्रबार ०५:४०
Loading...