कुलमान घिसिङलाई रोक्न ‘नियम र प्रक्रिया’को तर्क : ओलीका मान्छे चैं सोझै नियुक्त !

काठमाडौं, माघ २८
सरकारले नेपाल विद्युत् प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । यसअघि कायम मुकायम रहेका शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै अब प्राधिकरणको प्रमुखको पदमा लामा समयदेखि रहेको विवाद सकिएको छ ।

मन्त्रीपरिषद्को माघ २६ गते बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको स्रोतले बताएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर काम गरेका हुन् । झन्डै ३ दशक अनुभव भएका शाक्यलाई प्राधिकरण तथा ऊर्जा क्षेत्रमा सक्षम व्यक्तिको रूपमा लिने गरिन्छ ।

यसअघि सरकारले कुलमान घिसिङलाई ०७३ भदौ २९ गते कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते पदबाट बिदा भएका थिए । विगतमा दैनिक १८ घन्टासम्म लोडसेडिङ रहेको नेपालमा घिसिङले नै नाटकीय लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाएका थिए । त्यसकै कारण आज पनि जनताले घिसिङको चर्चा र प्रशंसा गर्ने गर्छन् । उनलाई उज्यालो नेपालमा लागि आइडल नै मान्छन् ।

यसअघि जनताले घिसिङलाई दोस्रोपटक प्राधिकरण प्रमुखमा नियुक्त गर्न माग गर्दै सडक आन्दोलन नै गरे पनि त्यसबेला सरकारले खुला प्रतिस्पर्धाबाट नयाँ प्रमुख नियुक्त गर्ने भन्दै घिसिङलाई पुनः नियुक्त गरेको थिएन । त्यसबेला सरकारले नियम र प्रक्रियाको कुरा गरेर घिसिङलाई पुनः नियुक्त गर्न नमिल्ने बताएको थियो ।

तर, यसपटक शाक्यलाई भने खुला प्रतिस्पर्धा नै गरी प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा नियुक्त गरिएको बुझिएको छ । ओलीले नजिकका र उनले चाहेका व्यक्ति भएकाले सरकारले खुला प्रतिस्पर्धा र कुनै प्रक्रिया नै पूरा नगरी ठाडो नियुक्ति गरेको भन्दै आलोचना बढेको छ । आफ्ना नजिकका मान्छे शाक्यलाई प्रमुख पदमा नियुक्त गर्नका लागि नै ओलीले यसअघि कुलमान घिसिङलाई दोस्रोपटक नियुक्त गर्न नमानेको बुझिएको छ ।

प्रकाशित मिति २८ माघ २०७७, बुधबार १५:२४
Loading...